बाढी पहिराेको उच्च जोखिममा नवलपुर


मीना कंडेल,कावासोती, साउन २४ गते । नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुबानको जोखिमयुक्त क्षेत्र हो ।

यहाँ पहाडी क्षेत्र पहिरोको जोखिममा र समथर भागमा नदी कटानको समस्या छ । मनसुनको समयमा बाढी तथा पहिरोको कारणले हुने जनधनको क्षति र प्रभावका आधारमा गरिएको जोखिम विश्लेषणबाट ३४ वटा वडालाई बाढीपहिरोको जोखिमका हिसाबले अति उच्च जोखिममा परेको वडामा राखिएको छ ।

“जिल्लाका आठ पालिकाका ९२ वटा वडामध्ये ३४ वटा वडा विपद्का दृष्टिले उच्च जोखिममा छन् । स्थानीय तहसँगै अन्य सम्बन्धित कार्यालयलाई कतै डुबान कटान भए फिल्ड अध्ययन गरी गर्न सकिने काम गर्न निर्देशन गरिएको छ,” प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले भन्नुभयो ।

मनसुन जन्य विपद्का घटना केही भइहाले खोज उद्धारका लागि जिल्लास्थित सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको समेत प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनुभयो ।

हुप्सेकोट गाउँपालिकाभित्रका चार वटा वडा, मध्यविन्दु नगरपालिकाका चार वटा वडा, देवचुली नगरपालिकाका ९ वटा वडा, कावासोती नगरपालिकाभित्रका सात वटा वडा, गैँडाकोट नगरपालिकाको वडा नम्बर २ विनयी त्रिवेणीभित्रका चार वडा, बुलिङटारको वडा नम्बर २, बौदीकालीको चार वटा वडा बाढीका  दृष्टिकोणले अति उच्च संकटासन्न अवस्थामा छन् ।

यस्तै पहिरोको जोखिमका रूपमा हुप्सकोट १ र २, मध्यविन्दु १३ र १४, विनयी त्रिवेणी १ र ६ तथा बुलिङटार वडा नम्बर ३ गरी ७ वटा वडा अति उच्च संकटासन्न वडाका रूपमा छन्। यस्तै पहिरोको जोखिमका रूपमा हुप्सकोट १ र २, मध्यविन्दु १३ र १४, विनयी त्रिवेणी १ र ६ तथा बुलिङटार वडा नम्बर ३ गरी ७ वटा वडा अति उच्च संकटासन्न वडा हुन् । बाढीको जोखिमका हिसाबले १६ वटा वडा उच्च संकटासन्न र पहिरोको जोखिमका हिसाबले ८ वटा वडा उच्च संकटासन्न अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष डिल्लीराम कडरियाले विपद्बाट बच्न सबै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । उद्धारका निमित्त जिल्ला भरी १४ वटा शाखा रहेको र प्रत्येक उपशाखाबाट १० जना उद्धारकर्ता तयारी अवस्थामा रहेको बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिकामा मात्र ४० जना तालिम प्राप्त उद्धारकर्ता तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

नदी किनारको तटीय क्षेत्रमा रहेको निम्न समुदायलाई आयआर्जनको लागि बर्खाको समयमा खोलामा पस्नु पर्ने बाध्यतालाई हटाउने गरी काम गर्नुपर्ने बताउनुभयो । विपद्का घटनाबाट हुने जनधनको सुरक्षाका लागि सबै एकजुट भएर लाग्नु पर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले विपद्को बेला उद्धार र पूर्व तयारीका लागि विभिन्न स्थानीय निकायसँग समन्वय गरी अघि बढेको बताउनुभयो । जिल्लामा विपद्का लागि पाँच सय जनशक्ति रहेको र २५० जना तालिम प्राप्त जनशक्ति रहेकाले जुनसुकै विपद्को समयमा खटिन सक्ने अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया