नेपाल प्रहरीले कावासोतीमा पेट्रोल पम्प खोल्ने


कावासोतीमा(नवलपरासी), ७ भदौ,
नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी सप सहितको अत्याधुनिक पम्प निर्माण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नाममा रहेको २२ कठ्ठा जग्गामा प्रहरीले पम्प खोल्न लागेको प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) टेक प्रसाद राईले बताउनु भयो ।
“कुल १० करोड ९९ लाख ५४ हजार एक सय ६५ लागत रकम रहेको यो पेट्रोल पम्प अगामी २०८२ भदौ २ गते निर्माण सम्पन्न हुने छ”,उहाँले भन्नु भयो,“पूर्वपश्चिम राजमार्ग सँगै जोडिएको हुनाले जनतालाई धेरै सहज हुने अपेक्षा लिएका छौ ।”
बगैँचा र पर्याप्त गाडी पार्किङ क्षमता सहित निर्माण हुने यो पम्प नेपालकै नमुना हुने प्रहरी अतिरिक्त महानिरीक्षक राईले जानकारी दिनु भयो । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको बजेटमा निर्माण गरिने पम्पले जनतालाई सहुलियतरुपमा सेवा दिने राईले बताउनु भयो ।
“अत्याधुनिक पम्पको रूपमा निर्माण गर्न लागिएको हुँदा यहाँ पेट्रोल पम्प सहित इभी चार्जिङ स्टेसन, कफी सप, गाडी मर्मत केन्द्र, पार्क लगायतका सुविधाहरू रहने छन्”,उहाँले भन्नु भयो ।


आगामी एक वर्ष भित्रमा सम्पूर्ण निर्माण कार्य सक्ने गरी एन सी अल्फा हेक्स तेजस्वी, जे भि चौँरी देउराली ५ काभ्रेले निर्माण ठेक्का पाएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीको अघिल्तिर निर्माण गरिने पेट्रोल पम्पको शुक्रवार प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले शिलान्यास गर्नु भएको छ ।

प्रतिक्रिया