हुप्सेकोटमा दूध उत्पादक किसानलाई लिटरमा २० रुपैयाँ अनुदान
विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २६ कात्तिक,(रासस)
नवलपरासी(बर्दघाट–सुस्तापूर्व)
गाउँपालिकाले गत आर्थिक वर्ष सम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्ष देखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।अनुदान रकम साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत विक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनु भयो ।
“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”,उहाँले भन्नु भयो,“किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।”
हुप्सेकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिका भित्रका दुग्ध सहकारीमा किसानले विक्री गरेको प्रतिलिटर दूधमा २० रुपैयाँ नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन सुरु गरेकोमा चालु आर्थिक वर्षमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनु भयो ।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष अनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रमहरू अगाडि सारिएका छन्”,उहाँले भन्नु भयो, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”
गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर १० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेश वाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर १० रुपैयाँ हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनु भयो ।
“आर्थिक वर्ष २०८०/८१ मा कुल ७५ हजार दुई सय दुई लिटर दूधमा कुल पाँच लाख ६४ हजार १२ रुपैयाँ अनुदान रकम किसानलाई वितरण गरिएको छ”,उहाँले भन्नु भयो,“आर्थिक वर्ष २०७९/८० मा कुल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँच रुपैयाँको दरले दुई लाख ८६ हजार छ सय १९ रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो ।”
गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्ण सिंह राना मगरले बताउनु भयो । उत्पादन वृद्धि सँग सँगै किसानहरूलाई उत्साहित गराउन यस वर्ष दूध उत्पादनमा आकर्षक अनुदान रकमको व्यवस्था गरिएको उपाध्यक्ष रानाको भनाई छ ।
चालु आर्थिक वर्षका लागि दूधमा अनुदान कार्यक्रम अन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मीले बताउनु भयो ।