शिव मावि कावासोतीका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रम प्रति आकर्षित


विष्णु गौडेल, मध्यविन्दु(नवलपरासी), २७ भदौ.(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को शिव नमुना मावि कावासोती नगरपालिका–२ मा कक्षा ५ मा अध्ययन गर्ने नवीन न्यौपाने हिजो आज विद्यालयमा पढ्ने मात्र होइन करेसाबारीको काम पनि सिक्ने गर्नु हुन्छ ।

विद्यालयमा पढाइ सँगसँगै तरकारी खेती सम्बन्धी प्रयोगात्मक अभ्यास पनि हुन थाले पछि नवीन तरकारी खेती सम्बन्धी काम गर्न अभ्यस्त हुन थाल्नु भएको हो । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाई दुवै राम्रो भइरहेको छ”,नवीनले भन्नु भयो ।

विद्यालयमा गत वर्ष देखि सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको तरकारी खेती सुरु भए पछि नवीन जस्तै सोही विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी भई पढाइ सँगसँगै सीप पनि सिकिरहेका छन् ।

सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत समीक्षा पाठक पनि विद्यालयको करेसा बारीमा काम गर्न पाउँदा खुसी लागेको बताउनु भयो । “विद्यालयमा पढाइ मात्र हुने गरेको थियो तर तरकारी खेती पनि सुरु भएको छ हामीलाई धेरै नै प्रभावकारी भई रहेको छ”,उहाँले भन्नु भयो ।

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसम्म जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा प्रभावकारी बन्दै गएको शिव नमुना मावि कावासोतीका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले बताउनु भयो । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रम अन्तर्गत २५ हजार रकम बजेट विनियोजन गरेपछि विद्यालयको ४ कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेको हो”,उहाँले भन्नु भयो,“विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएपछि विद्यार्थीहरूको सिकाइमा थप प्रभाव देखिएको पाइन्छ ।”

विद्यार्थीहरूले विद्यालयकै करेसाबारीमा मौसम अनुसारका तरकारीहरू लगाउने गरेका छन् । करेसाबारीमा उत्पादन भएको तरकारी विद्यालय हाता भित्रनै विद्यार्थीहरूले विक्री वितरण समेत गर्दै आएका छन् । प्रधानाध्यापक पौडेलले भन्नु भयो,“विद्यार्थीहरू अहिले पढेको कुरा अभ्यास गर्नेसँगै व्यवसायीक रूपमा लाग्नको लागि आवश्यक कुराहरू ज्ञान आर्जन गरिरहेका छन् ।”

विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि बिस्तारै चासो दिन थालेको विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतले बताउनुभयो । “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”,उहाँले भन्नु भयो,“बालबालिकालाई सानै उमेर देखि मेहनत र सिपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरूक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखियो ।”

विद्यार्थीले कक्षामा गर्नु पर्ने परियोजना कार्य सँगै तरकारी खेतीलाई जोडिएको शिव नमुना माविका प्रावि इन्चार्ज हिरा महतोले बताउनु भयो । “यो सिजनमा तिल र भेन्डि उत्पादन गरिएको छ, विद्यार्थीहरूले तीन हजार पाँच सयको तरकारी विक्री गरेका छन् भने तिल विक्री गर्न बाकी रहेको छ”,उहाँले भन्नु भयो ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्ष देखि २० वटा सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले बताउनु भयो । विद्यालयको करेसाबारीमा विद्यार्थीले उत्पादन गरेको तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने गरिएको छ । “दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएका स्रोत साधनलाई प्रयोग गर्ने मुख्य उद्देश्य सहित यो कार्यक्रमलाई लागु गरिएको हो”,उहाँले भन्नु भयो ।

प्रतिक्रिया