नवलपुरमा नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), १६ भदौ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जाने अनुमति पत्र अर्थात् राहदानी बनाउने सेवाग्राहीहरू धेरै भएका छन् । गएको आर्थिक वर्ष २०८०/०८१ मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भयो ।
गत आवमा १६ हजार नौ सय सात वटा राहदानी वितरण गरिएको छ । राहदानी लिने मध्य पुरुष १० हजार ३६ जना, महिला छ हजार दुई सय ७७ जना र नाबालक पाँच सय ६४ जना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
“गत आव जिल्लामा राहदानी लिनेको सङ्ख्या आव २०७९/०८० को भन्दा तीन हजार नौ सय ८८ जनाले कम रहेको देखिएको छ”,उहाँले भन्नु भयो,“आव २०७९/०८० मा यस जिल्ला वाट २० हजार आठ सय ९५ वटा राहदानी वितरण भएको थियो । जस मध्य पुरुष १२ हजार सात सय नौ जना, महिला सात हजार सात सय २१ जना र नाबालक चार सय ६५ जनाले राहदानी लिएका थिए ।”
जिल्लामा गत आवमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या आठ हजार नौ सय ४६ जना रहेका छन् । जस मध्य महिला चार हजार पाँच सय ३५ र पुरुष चार हजार चार सय ११ जना रहेका छन् । गैर आवासीय नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या ३४ रहेको छ । त्यसै गरी नागरिकताको प्रमाण पत्रको प्रतिलिपि लिनेको सङ्ख्या आठ हजार तीन सय ६० जना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनु भयो ।
“गत आवमा नयाँ नागरिकता लिनेको सङ्ख्या आव २०७९/०८० मा भन्दा एक हजार चार सय १२ जनाले कम भएको छ”,उहाँले भन्नु भयो,“आव २०७९/०८० मा जिल्लामा नयाँ नागरिकता लिनेको सङ्ख्या १० हजार तीन सय ५८ जना रहेको थियो ।”
जिल्लामा गत वर्ष २२ हजार ८७ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । आव २०७९/०८० मा पनि २२ हजार एक सय ४६ राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा राहदानी बनाउन जानेहरूमा विद्यालय तथा कलेज उमेर समूहका विद्यार्थीहरू उल्लेख्य रहेका छन् । कक्षा १२ उत्तीर्ण गरे लगत्तै वैदेशिक अध्ययन गर्न जाने भन्दै राहदानीको फाराम भर्ने गरेको पाइन्छ ।

नौ करोड बढी राजश्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८०/८१ मा कुल नौ करोड ८५ लाख ३३ हजार तीन सय ७० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार राजश्व सङ्कलनको मुख्य स्रोत राहदानी वितरण रहेको छ ।
गत आवमा राहदानी बापत कुल नौ करोड एक लाख ३२ हजार पाँच सय सात रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यसै गरी प्रशासनिक दण्ड जरिवाना बापत ७५ लाख ९४ हजार आठ सय ८३ रुपैयाँ, संस्था दर्ता तथा नवीकरण बापत छ लाख ६५ हजार एक सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको राजश्व अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा एक करोड ७१ लाख ७८ हजार एक सय सात रुपैयाँले कमी भएको छ । आव २०७९÷८० मा कुल ११ करोड ५७ लाख ११ हजार चार सय ७७ रुपैयाँ राजश्व सङ्कलन गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
“गत आर्थिक वर्षमा राहदानी बनाउनेको सङ्ख्या अघिल्लो वर्षको भन्दा कम भएकाले राजश्व पनि केही घटेको देखिन्छ”,उहाँले भन्नु भयो ।

 

प्रतिक्रिया