होटल रेस्टुरेन्टमा अनुगमन, ५७ किलो मासु नष्ट


बोमलाल गिरी,नवलपुर, भदौ १५ गते । नवलपुर सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टमा अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको टोलीले होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको हो ।

गोरखापत्रले बिहीबार ‘होटलमा अखाद्य रङको बिगबिगी, छैन बजार अनुगमन’ शीर्षकमा समाचार छापेपछि त्यसको भोलिपल्टै अनुगमन सुरु गरिएको हो । अनुगमन क्रममा हात्तीखोरमा रहेको खोङ्ग–खोङ्ग होटल तथा रेस्टुरेन्टबाट अखाद्य रङ प्रयोग गरिएका कुखुरा र बङ्गुरको ५५ किलो मासु, भारतमा उत्पादित भएर नेपालमा प्रतिबन्ध लगाइएका रेडबुल बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो ।

त्यसैगरी द डेस्टीनी रेष्टुरेन्ट एण्ड कटेजबाट अखाद्य बस्तु रातो रङ मिसाइएको २ किलो कुखुराको मासु र सलिना खाजा घरबाट २५ प्लेट उत्पादित कम्पनीको ट्याग नलगाइएको मःमः नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

उनीहरूलाई एक पटकलाई चेतावनी दिएर अब त्यस्तो नगर्न निर्देशन दिएर छाडिएको उहाँको भनाइ छ ।

खाद्य पदार्थमा रङ निषेध

उपभोक्ता संरक्षण ऐन २०७५ ले पकाएर खाने खाद्य पदार्थमा रङ्गको प्रयोग निषेध गरेको छ । खाद्य रङ भन्दै खाने कुरालाई आकर्षक बनाउन निषेधित रङको प्रयोग हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य अधिकृत ज्योति आचार्यले बताउनुभयो ।

उहाँका अनुसार सेन्थेटिक फुड कलर अर्थात् कोलटार (कृत्रिम) रङ खान तयार पारिएको खाद्य पदार्थमा प्रतिकिलो दुई सय मिलिग्राम नबढाई प्रयोग गर्न सकिन्छ । कोलटार रङ आइसक्रिम, चिज, फूलबाट बनेका परिकार, बिस्कुटलगायत पकाएर खान नपर्ने १० खाद्य पदार्थमा मात्र प्रयोग गर्न पाइन्छ । पकाएर खाने खाद्य पदार्थमा कोलटार रङ्ग निषेध गरिएको आचार्यले बताउनुभयो ।

उच्च जोखिम

नवलपुरका डा. जितेन्द्र कँडेलका अनुसार यसरी खानामा प्रयोग गरिएको रङले शरीरका विभिन्न भागमा असर गर्छ । ‘केमिकलको प्रकृतिअनुसार शरीरमा यसको असर देखिन्छ’, डा. कँडेलले भन्नुभयो, ‘‘छालामा समस्या देखिन्छ, पेटको आन्द्रा, मिर्गौलामा समस्या हुन्छ र अन्त्यमा क्यान्सरसम्म भएर मानिसको मृत्यु हुन सक्छ ।’’

प्रतिक्रिया