नवलपुरमा साढे सात क्विन्टल बढी गाँजा सहित ट्रक बरामद


मध्यविन्दु (नवलपरासी), १४ साउन, भारतीय कन्टेनरमा फल्स बटन बनाई साढे सात क्विन्टल भन्दा बढी गाँजा(लागु औषध) तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी(बर्दघाट सुस्तापूर्व) वाट भारतीय ट्रक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमालचोक वाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्वकटिङ गर्दै आइरहेको कार सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चेक जाँच गर्ने क्रममा NL 01 5544 नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बिच भागमा फल्स बटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी फोरी हेर्दा २४ बोरा मा सात क्विन्टल ६९ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तार्पू)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो । साथै सोही ट्रकलाई स्वकटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई समेत पक्राउ गरिएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका वडा नं.३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका १ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन् ।
“गाँजा सहितको भारतीय कन्टेनर पूर्व पश्चिम राजमार्ग हुँदै भारत तर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त परिमाणमा गाँजा भेटिएको हो”,उहाँले भन्नु भयो,“यो तस्करीमा सङ्गठित गिरोह लागिपरेको हुन सक्ने हुँदा हामीले गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौ ।”

प्रतिक्रिया