नारायणगढ-बुटवल सडक खण्ड विस्तार : ४६.९८ प्रतिशत वित्तीय प्रगति


मीना कँडेल,कावासोती, साउन १४ गते । स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग, नारायणगढ–बुटवल सडक खण्डको छ वर्षको अवधिमा ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। नारायणगढ–बुटवलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । यो आयोजनाले गत आ.व ०८०-८१ मा ४६.९८ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको हो ।

नारायणगढ बुटवल सडक आयोजनाले बजेट खर्च गर्न सकेको छैन । आयोजनाका लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकोमा ४६.९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपियाँ खर्च भएको हो ।

नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापा मगरले विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको बताउनुभयो । यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि एक वर्षका लागि म्याद थपिएको उहाँले बताउनुभयो । नयाँ कम्पनीलाई ठेक्का दिँदा टेण्डर प्रक्रियामा जानुपर्ने, त्यो प्रक्रिया टुङ्गिनै झण्डै एक वर्ष लाग्ने भएकाले पुरानोलाई नै निरन्तरता दिनुपरेको प्रमुख थापामगरको भनाइ छ ।

ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनले समयमै काम नगर्दा यो सडकको यात्रा निकै कष्टकर छ । गर्मीमा धुलो र वर्षामा हिलोले गर्दा यो सडक खण्डको यात्रा अति कष्टकर  हुने गरेको छ । अहिले पनि सामान्य वर्षामा सडक बन्द हुने अवस्था छ । पानी रोकिएको समयमा पनि बिग्रिएको सडक मर्मत नहुँदा समस्या बढ्दो छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.लि.ले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । कामको गति बढाउने र अब थपिएको समयभित्र काम सक्नुपर्ने आयोजना निर्देशनालयले जनाएको छ । दुवै साइड गरेर २६.५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।

नारायणगढ बुटवल खण्डको ११३ किलोमिटर सडक अन्तरर्गत पूर्वी खण्डमा ६५ किलोमिटर मध्य बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ ।

प्रतिक्रिया