कावासोतीमा निर्माणाधीन नालामा पुरिएर अर्की महिलाको पनि मृत्यु, मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो


मध्यविन्दु (नवलपरासी), ३१ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर वेपत्ता भएकी महिलाको शव फेला परेको छ ।
विहिवार साँझ कावासोती नगरपालिका २ स्थित फलफूल चोकदेखि पूर्व तर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला पुरिएकोमा दुई जनाको यस यस अघि नै मृत्यु भएको थियो भने एक जना महिला वेपत्ता हुनु भएको थियो ।
वेपत्ता हुनु भएकी कावासोती नगरपालिका ५ बस्ने ३२ वर्षीय चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो ।
माटोले पुरिएर कावासोती नगरपालिका ५ लक्ष्मी नगर बस्ने ५१ वर्षीय सेती राना र २६ वर्षीय तान माया गाहाको मृत्यु भईसकेको थियो ।
ढल निकासीको हेम पाइप राख्नको लागी बनाउँदै गरेको निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्न जाँदा तीन जना महिलाहरू पुरिएका थिए । पुरिएका मध्य दुई जनाको उद्धार गरी उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया