विमानको शौचालयमा शिशु मृत भेटिएको घटनामा महिला पुर्पक्षका लागि थुनामा


२२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर अरेबियाको विमानको शौचालयमा नवजात शिशु फालेको आरोपमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा पठाइएकी छन् ।

विमानको शौचालयमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि नवलपरासी बर्दाघाट नगरपालिका–१६ कि २८ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । ४ पुसमा दुबईबाट आएको एअर अरेबियाको उडान नम्बर जी ९५३६ नम्बरको विमानको शौचालयमा नवजात शिशु मृत (बालक) फेला परेको थियो ।

उक्त शिशुलाई ती महिलाले जीवितै जन्म दिई फालेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । पक्राउ गरेर अस्पताल भर्ना गरिएकी महिलाको स्वास्थ्य अवस्था ठीक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा महिलाले एक नेपाली पुरुषसँग सम्पर्क हुँदा गर्भ रहेको वयान दिएकी थिइन् । दुबईमा बच्चा जन्माउन महँगो हुने भएकाले नेपालमा आएर बच्चा जन्माउने योजनासाथ आउँदा प्लेनमै बच्चा जन्मिएको उनको भनाइ थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार शौचालयमा बच्चा जन्मिएपछि आफू अर्धचेत भएकाले शिशुबारे केही सोच्न नसकेको ती महिलाले बयान दिएकी थिइन् ।

जीवितै शिशुको जन्म दिएर हेरचाह गर्नुको साटो हत्या गरेको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको बिहीबारको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

प्रतिक्रिया