गैँडाकोटमा समातिएका गोरु सहितको ट्रक फिर्ता पठाइयो


गैँडाकोट । गैँडाकोट स्थित रानीतालमा अवैध रुपमा ल्याइएको भन्दै समातिएका गोरु सहितको ट्रक फिर्ता पठाइएको छ ।

रामपुर पाल्पाबाट मकवानपुरतर्फ लैजाँदै गरेको अवस्थामा गैँडाकोट ल्याइपुराइएको ९ वटा गोरु सहितको लु २ ख ४८७५ नम्बरको ट्रक युवा संघका कार्यकर्ताहरूले गएराती करिब १० बजेतिर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । संघका कार्यकर्ताले अनाधिकृत रुपमा ल्याइएको भन्दै दोषीलाई कारबाही गर्न माग गर्दै गाई गोरु सहितको ट्रक प्रहरीलाई बुझाएका थिए ।

नियन्त्रणमा लिइएको उक्त गोरु सहितको ट्रक आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवन पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा आवश्यक कागजात नभएको, स्वास्थ्य परीक्षण लगायतका कागजात एवं आवश्यक प्रक्रिया पुरा नगरेकोले उक्त ट्रकलाई ५ हजार जरिवाना गरी छाडिएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उक्त गोरु सहित ट्रकलाई रामपुर पाल्पा नै फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

अनुसन्धानका क्रममा कृषि प्रयोजन (जोत्नका लागि) मकवानपुर लैजान लागेको बताएका थिए ।

प्रतिक्रिया