पत्रकार महासंघ नवलपुरको स्थापना दिवसमा वृक्षारोपण  


कावासोती,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपण गरी मनाएको छ । जिल्ला शाखाको पाँचौँ स्थापना दिवस फागुन १८ गते कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्मित भवन परिसर कावासोती नगरपालिका ३ मा सरसफाइ एवम् वृक्षारोपण गरिएको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य दिनु हुँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले जिल्ला शाखा नवलपुरको आफ्नै जग्गा प्राप्ति र कार्यालय भवन निर्माणमा वर्तमान कार्यसमितिको प्रयास प्रशंसनीय रहेको बताउनु भयो । जिल्लामा पत्रकारिताको विकास र आगामी चुनौतीको सामना गर्दै अगाडि बढ्न अध्यक्ष शर्माले सुझाव दिनु भयो । उहाँले नमुना सदरमुकाम कावासोतीमा महासङ्घको स्थायी भवन निर्माण हुनु पहिलो चरणको कार्य भएको बताउनु भयो । आगामी दिनमा जिल्ला स्तरका सञ्चार गृहलाई मजबुत गराउँदै सत्य तथ्य समाचारमा आधारित बनेर पत्रकार महासङ्घ जिल्ला शाखा नवलपुरलाई सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रूपमा पत्रकार उत्पादन गर्दै नमुना महासङ्घ गराउन अध्यक्ष शर्माले शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेलले जिल्लामा पत्रकारिताको विकासका लागि सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । जिल्ला शाखाले संस्थागत विकास सँगै पत्रकारहरूको हकहितका लागि पनि काम गरिरहेको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य घनश्याम बगाले, बानका केन्द्रीय लेखा समिति संयोजक सागर पोख्रेल, प्रेस चौतारी गण्डकी प्रदेशका कोषाध्यक्ष भविश्वर पाण्डे, प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा,पत्रकार श्रीराम सिग्देल,धनु भुसाल सहितका जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया