नवलपुरमा सवारी दुर्घटनामा कमी आउन सकेन


नवलपरासी, १८ माघ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पछिल्लो छ महिना भित्र विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म जिल्लाका विभिन्न स्थानमा भएका ५२ वटा सवारी दुर्घटनामा परि २१ जनाले ज्यान गुमाएका हुन् । यो अवधिमा जिल्लामा भएका सवारी दुर्घटनामा परी ४० जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले बताउनु भयो ।
“जिल्लाको आठवटा पालिकामध्ये सबैभन्दा बढी पहाडी भेगमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।”,उहाँले भन्नु भयो ,“सवारी चालकको लापरबाही र बन्दै गरेको सडक दुर्घटनाको मुख्य कारण बनेको देखिन्छ । ”
तीव्र गतिमा सवारी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, आवश्यकताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने र सवारी अनुमतिपत्र नभएका चालकले गाडी चलाउँदा दुर्घटना हुनेगरेको छ । “सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुनेगरेको छ”उहाँले भन्नु भयो ।

सवारी दुर्घटना रोक्थामाका लागि जिल्लामा सवारी चेक जाँच लाई कडाई गरिएको भए पनि दुर्घटना कम हुन नसकेको हो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा १२ हजार बढी सवारी साधन कारबाहीमा परेको प्रमुख आचार्यले जानकारी दिनु भयो ।
“साउनदेखि पुस मसान्तसम्मको पछिल्लो छ महिनामा १२ हजार आठ सय ४७ सवारी कारबाहीमा परेका छन् ”,उहाँले भन्नु भयो,“कारबाहीमा परेका सवारी साधनबाट एक करोड छ लाख २२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।”
कारबाहीमा परेका मध्य मादक पदार्थ सेवन गरी गाडी चलाउने दुई हजार तीनसय २३ सवारी चलाकलाई पक्राउ गरिएको र उनीहरूबाट २४ लाख ३० हजार राजस्व सङ्कलन भएको प्रमुख आचार्यले बताउनुभयो ।

सवारी दुर्घटना नियन्त्रण र न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चालकहरूको स्वास्थ्य परीक्षण अभ्यास, चिकित्सकको संलग्नतामा घटना स्थलमै पुगेर उपचार अभ्यास, साना तथा ठुला सवारी साधनमा स्टिकर टाँस्ने, आँखा शिविरलगायतका दुर्घटनासम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ, मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता गाउँ–गाउँमा, चोक–चोकमा, विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम र घुम्तीहरूमा रिफ्लेक्टिभ स्टिकरहरू टाँसजस्ता कामलाई थप प्रभावकारीरुपले अगाडि बढाउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।
“जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि दुई हजार चारसय ६९ सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ”,उहाँले भन्नु भयो ,“जसमध्ये टिप्पर दुई सय ६४, ट्रक दुई सय ६७, बस एक सय १८, जिपकार एक सय ३७, मोटरसाइकल एक सय २३ र १५ विद्यालयका विद्यार्थीले चढ्ने नौ सय ४८ साइकलसहित अन्यमा एक हजार एक सय ३० मा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ ।”
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकसम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा अनिवार्य रूपमा सिटबेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरू सेवनगरी सवारी साधन नचलाउन, तीव्र गतिमा सवारी साधन नचलाउन सचेतनामूलक सन्देश दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया