तनहुँमा टिप्परलाई ओभरटेक गर्दा बस दुर्घटना, १८ यात्रु घाइते


पोखरा- पृथ्वी राजमार्गमा टिप्परलाई ओभरटेक गर्न खोज्दा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दुर्घटनामा १८ यात्रु घाइते भएका छन्। बसमा करिब ४० यात्रु सवार थिए।

आइतबार बिहान साढे ८ बजे तनहुँको व्यास नगरपालिका- १२ कमलबारीमा बस दुर्घटना भएको हो।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ओभरटेक गर्ने क्रममा दाहिने टायर सडकबाट खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनकुमार खाँणले बताए।

घाइतेमध्ये ४ जना दमौली अस्पतालमा उपचार भइरहेको छ। ६ जनाको रत्नहरि मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।

८ जनाको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ। अलि बढी चोट लागेकालाई सिटी स्क्यान गर्नुपर्ने भएपछि पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया