वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु, क्षतिपूर्तिमा १ करोड ३३ लाख खर्च
बोमलाल गिरी ,नवलपुर, वैशाख ३१ गते।चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ। अरु १२ जना सख्त र १५ जना सामान्य घाइते भएका चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ।
साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वन्यजन्तुको आक्रमणबाट चार सय दुई वटा घटना भएका छन्। वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेको तथा खेतबारीका अन्नबालीमा पनि क्षति पुर्याएका छन्। निकुञ्जले वन्यजन्तुले पुर्याएको क्षतिपूर्ति बापत १ करोड ३३ लाख ९४ हजार ६०९ रुपियाँ राहत वितरण गरेको जनाएको छ।
१० महिनाको अवधिमा सबैभन्दा धेरै हात्तीको आक्रमणका ११२ वटा घटना भएका छन्। त्यस्तै गैँडाबाट ९७, बाघबाट ४२, चितुवाबाट ७७, जंगली बँदेलबाट ६९, मगर गोहीबाट २ र अजिङ्गरको आक्रमणबाट ३ वटा घटना भएको निकुञ्जले जनाएको छ।
गैँडाले पुर्याएको क्षतिबापत सबैभन्दा धेरै क्षतिपूर्ति बापतको राहत रकम तिर्नुपरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार गैँडाले पुर्याएको क्षतिवापत ४९ लाख १ हजार १२३ रुपियाँ तिर्नुपरेको छ। त्यस्तै बाघले पुर्याएको क्षतिवापत ३९ लाख ६८ हजार ७८९ र हात्तीले पुर्याएको क्षतिबापत १७ लाख ८३ हजार ६१० रुपियाँ राहत रकममा खर्च भएको छ।
चितुवाले पुर्याएको क्षतिवापत ११ लाख ६१ हजार ७१० रुपियाँ, मगर गोहीले पुर्याएको क्षतिबापत १० लाख २० हजार, जङ्गली बँदेलले गरेको आक्रमणको क्षतिबापत ५ लाख ३५ हजार ८५० रुपियाँ राहत वितरण भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सबै राहत प्राकृतिक क्षति बापतको रकम हो।
यो अवधिमा गैँडा र बाघको आक्रमणबाट ३/३ जना र मगर गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुका परिवारलाई जनही १० लाखका दरले ७० लाख रूपियाँ हस्तान्तरण गरिएको छ। सख्त घाइतेहरुलाई १९ लाख ६६ हजार ४३२ रुपियाँ र सामान्य घाइते भएकालाई १ लाख ५७ हजार ३४२ रुपियाँ राहत वितरण गरिएको तिवारीले जानकारी दिनुभयो।
यो अवधिमा निकुञ्जले १ सय ४२ वटा पशुधनको क्षतिबापत २० लाख ९५ हजार २१०, भण्डारण गरेको अन्नको क्षतिबापत ८५ हजार, ३१ वटा घरगोठको क्षतिबापत ४ लाख ९६ हजार ९७५ र खेतमा लगाइएको अन्नबालीको क्षतिबापत १५ लाख ९३ हजार ६५० रुपियाँ राहत दिइएको तिवारीको भनाइ छ।
गत आर्थिक वर्ष ०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणका आठ सय ५६ वटा घटना दर्ता भएका थिए भने १२ जनाको मृत्यु भएको थियो।