यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना, तापक्रम पनि बढ्ने


३१ वैशाख, काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको हो ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंले जानकारी दिए ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ ।

जुन र जुलाईमा सरदरभन्दा कम वर्ष भई बाँकी अवधिमा सरदर भन्दा बढी वर्षा भए पनि पूर्वानुमान मिलेको मानिने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन् ।

विभागले यस वर्षको मनसुन अवधिमा अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेकोसमेत जनाएको छ ।

कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तरपूर्वी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यसैगरी अधिकांश स्थानमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ । सुदूरपश्चिम, गण्डकी, बागमती प्रदेशका थोरै भूभागमा तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको वरिष्ठ मौसमविद हुमागाईं बताउँछन् ।

यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण भएकाले चरम मौसमी घटना हुनसक्ने सम्भावना रहेकाले पूर्व सतर्कता आवश्यक रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउँछन् ।

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) र अन्तर्राष्ट्रिय विज्ञहरुको समेतको सहभागितामा दक्षिण एसियाली देशहरुको मनसुन प्रक्षेपण गरिन्छ । त्यसकै आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको सम्भावित मनसुनी अवस्थाबारे जानकारी गराएको हो ।

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।

‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । गत वर्ष अलनिनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा हुने र बढी गर्मी हुने भनेर जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण मिलेको थियो ।

यस वर्ष भने ‘ला–निनो’को  प्रभाव छ ।  सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।

अनियमितता र क्षति

विगत दुई दशकको अभिलेख हेर्दा नेपालमा मनसुन आगमन र बहिर्गमन ढिलो हुँदै गएको छ ।

नेपालमा सबैभन्दा छोटो मनसुन अवधि सन् १९७९ मा थियो । सो वर्ष ७३ दिन मात्रै मनसुन अवधि कायम थियो । गत वर्ष भने सर्वाधिक लामो मनसुन अवधि १३४ दिन थियो । मौसमविदका अनुसार मनसुन अवधि औसतभन्दा लम्बिँदै गएको र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।

गत वर्षको मनसुन अवधिमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भएको थियो । तर ठाउँ–ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो पनि आएको थियो । मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल वर्षाले पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभा नराम्रोसँग प्रभावित भएका थिए ।

गत वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै विपदका घटना कोशीमा भए पनि मानवीय क्षति भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा भएको थियो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको मनसुन अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ गरी जम्मा ८९२ घटना अभिलेख भएका थिए । यी घटनाबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

यसैगरी २४३ निजी घर पूर्णमा क्षतिग्रस्त भएका थिए भने ७२० घरमा आंशिक क्षति भएको थियो । निजी आवासतर्फमात्रै करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

१५ वटा पक्की पुल क्षतिग्रस्त भएका थिए । त्यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । त्यसैगरी २७ वटा झोलुङ्गे पुलमा १२ करोड बराबरको क्षति भएको थियो । सडक, करिडोर तथा राजमार्गमा २८ करोड र सिंचाइतर्फ ३ करोड ५० लाख बराबरको क्षति भएको अनुमान छ ।

खानेपानी संरचनामा करिब ८ करोड, कृषितर्फ ३२१ पशुचौपाया र १ हजार २३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अनुसार सन्चालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी जम्मा ५७ वटा जलविद्युत संरचनामा करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ ।

प्रतिक्रिया