पुल शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा


भरतपुर, वैशाख ३१ गते । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्दै हुनुहुन्छ । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको  अहिले बिहान ९ .३० बजे एक कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुहुने कार्यक्रम रहेको हो । यो पुलले पश्चिम नेपाललाई पूर्वी नेपाल तथा काठमाण्डाँसगै जोडने काम गर्छ ।

शिलान्यासकालागि सम्पूर्ण तयारी पुरा भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ ।  बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ । जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्ने बताइन्छ ।

पुलको दुई ठाउँमा टावर राखिएका छन् । टावरसँग मिल्ने गरी केवलको माध्यमबाट पुल निर्माण गरिने छ । झन्डै १ अर्ब ६८ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन्छ ।

हाल भएको नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् ।

प्रतिक्रिया