नारायणगढ बुटवल सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध


मध्यविन्दु(नवलपरासी), २१ फागुन,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को चोरमारा र दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएको छ । आइतबार साझँको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा गए राति देखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक साजन कुमार शर्माले बताउनु भयो ।
“सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेकाले रातो माटो बगेर थुप्रिएपछि दाउन्ने क्षेत्र र चोरमारा–अरुणखोला सडक अवरुद्ध भएको हो”,उहाँले भन्नु भयो,“सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको छ ।”
हिजो रातिदेखि सडक अवरुद्ध हुँदा अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् । अहिले बिहान केही यात्रुवाहक गाडीलाई पास गराइएको प्रहरी निरीक्षक शर्माले बताउनु भयो । सयौँ यात्रुवाहक र मालवाहक गाडी बिच सडकमा अलपत्र परेका छन् ।
लामो समयदेखि निर्माणाधीन नारायणगढ बुटवल सडक खण्ड हिजोको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया