स्थानीय तहले विपन्न बिरामीको नाम फोटोसहित सार्वजनिक गर्नुपर्ने


२० फागुन, काठमाडौं । स्थानीय तहले विपन्न नागरिकको सिफारिस बनाएका बिरामीको विवरण प्रत्येक महिना फोटोसहित सार्वजनिक गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी स्थानीय तहलाई विपन्न बिरामीको नाम प्रत्येक महिना फोटोसहित सार्वजनिक गर्न समन्वय गरिदिन आग्रह गरेको छ ।

सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि रोग अनुसार आर्थिक सहुलियत दिएको छ ।

उक्त निर्देशिका अनुसार गठित भुक्तानी व्यवस्थापन समितिको २५ पुसमा बसेको बैठकले विपन्न नागरिकको सिफारिस पाएका बिरामीको नाम स्थानीय तहले सूचना पाटीमा फोटोसहित सार्वजनिक गर्नुपर्ने निर्णय गरेको थियो ।

विपन्न नागरिक सिफारिसको दुरुपयोग भएको हुनसक्ने आशंकाका आधारमा समितिले स्थानीय तहलाई फोटोसहित नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको समिति स्रोतको भनाइ छ ।

विपन्न नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई विपन्न हो भनी सिफारिस लिनुपर्नेछ ।

वडा कार्यालयको सिफारिस, चिकित्सकको पे्रस्क्रिप्सन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ ।

निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्थासमेत हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउन अस्पताललाई सिफारिस गर्नेछ ।

कडा रोग भएका बिरामीको उपचार गराउँदा सरकारले तोकेकै अस्पतालमा गराउनुपर्नेछ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा बढी ४ लाख रुपैयाँ सहुलियत प्रदान गर्नेछ ।

यसैगरी, हप्ताको बढीमा दुई पटक हेमोडाइलाइसिस र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा प्रतिसेसन २५००, अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिसमा प्रति प्याकेज ५ सय १ रुपैयाँ सहुलियत प्रदान गर्दै आएको छ ।

एक्युट किड्नी इन्जुरी, एक्युट गुल्मेरुलो नेफ्राइटिस र नेफ्रोटिक सिन्ड्रोम भएका र मिर्गौला प्रत्यारोपण पश्चात औषधी सेवन गरिरहेका बिरामीले १ लाख रुपैयाँ सहुलियत पाउनेछन् ।

यस्तै मुटु रोग, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।

कुनै एक रोगको औषधि उपचार सहुलियत प्राप्त गरिसकेपछि पुनः सोही रोगका लागि औषधि उपचार सहुलियत सुविधा लिन पाउँदैनन् । तर, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत भने पाउने छ ।

प्रतिक्रिया