भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २३ भदौ,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का थारु समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनत पर्वका अवसरमा थारु समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारु युवा समूहबिच प्रतियोगिता सञ्चालन गरिएको छ ।

नवलपरासी सहित तराई क्षेत्रका थारु समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिक कार्य गरिने थारु कल्याण कारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले बताउनुभयो ।
“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवानको उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा वि.सं.२०५२ देखि सुरु गरिएको हो”,उहाँले भन्नुभयो,“लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारुको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारु समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । थारु समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारु समुदायले विशेष महत्त्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको अध्यक्ष महतोले बताउनुभयो ।
“भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुईँमा नौ वटा लट्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लट्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”,उहाँले भन्नुभयो ।

भोदी खेल धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा थारु समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको थारु महिला अगुवा ओमकुमारी महतोले बताउनुभयो । यसबाट नयाँ पुस्तालाई खेलको महत्त्व बुझाउन र सिकाउन सहज भएको महतोले बताउनु भयो ।
“यहाँका थारुहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”,उहाँले भन्नुभयो,“भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको बताउने गरिन्छ ।”

तराई क्षेत्रका थारु समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यस खेलको महत्त्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन थारु समुदायको बाहुल्यता रहेको गाउँहरूमा प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ ।

प्रतिक्रिया