शुक्रवार बिहान देखि अवरुद्ध रहेको कालीगण्डकी कोरिडोर सुचारु


मध्यविन्दु(नवलपरासी), २२ भदौ,
शुक्रवार बिहान देखि अवरुद्ध रहेको कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व) खण्ड सुचारु भएको छ ।
बिहीबार रातिको वर्षाका कारण तीन ठाउँमा अवरुद्ध भएको सडक खण्ड आज दिउँसो देखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
कालीगण्डकी कोरिडोर अन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडामा लेदो माटो सहितको पहिरो हटाइएको छ । त्यसै गरी गैँडाकोट नगरपालिका–३ तराङखोलामा कल्भर्ट पानीको बहावले बगाई सडक अवरुद्ध भएकोमा कल्भर्ट मर्मत गरी सडक दुईतर्फी सुचारु गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।
शुक्रवार बिहान साढे ७ बजे देखि सडक पूर्ण रूपमा बन्द भएकोमा शनिवार दिउँसो देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । लगातारको वर्षाले कालीगण्डकी कोरिडोर बर्दघाट सुस्ता पूर्व खण्डको तीन ठाउँमा अवरुद्ध हुँदा सयौँ यात्रु एवं सवारी साधनहरू अलपत्र परेका थिए । सडक सुचारु भए सँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आएका छन् ।

 

प्रतिक्रिया