तिवारी आमालाई रामपुर नगरपालिकाद्वारा सम्मान


रामपुर (पाल्पा), भदौ १९ गते । रामपुर नगरपालिकाले लक्ष्मीदेवी तिवारी (तिवारी आमा) लाई सम्मान गरेको छ । परम्परागत भाका र शैलीमा तिजगीतमार्फत समसामयिक विषयवस्तुको उठान गर्दै आउनुभएकी उहाँलाई नगदसहित सम्मान गरेको हो ।

रामपुर –५ सुन्दरटोल निवासी ६४ वर्षीय तिवारीलाई खुला मौलिक तिजगीत प्रतियोगिताको अवसरमा नगद १५ हजारसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले तिवारी आमालाई सम्मान गर्नुभएकाे थियो ।

गीत संगीतको माध्यमबाट मौलिक संस्कृतिको संरक्षणसँगै कला क्षेत्रमा पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । मौलिक तिजको भाका गाएर तिवारी आमा नामबाट परिचित तिवारी आमाले सातसय भन्दा बढी गीत ल्याइसक्नुभएको छ । गाउँघरका मौलिक तिज भाकामार्फत आफ्नो पहिचान स्थापित गर्नुभएका उहाँले तिजगीतको भिडियोमा अभिनयसमेत गर्नुभएको छ ।

प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आपसी सद्भावलाई जोड्न संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।  ‘‘हामीले मनका सद्भावहरु जोड्न सकेनौँ भने हाम्रो विकास अधुरो हुन्छ । हाम्रा सम्बन्धलाई जोड्न र प्रगाढ बनाउन पनि हाम्रा कला संस्कृतिको जगेर्ना गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो । निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले तीजको मौलिकपन संरक्षण गर्दै सभ्य रुपमा मनाउन आग्रह गर्नुभयो ।

मौलिक संस्कृतिको जगेर्ना गर्दै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा २८ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितमा क्षेत्री समाज रामपुर पाल्पा प्रथम, रामपुर इङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ पाल्पा द्वितीय, बैडी माध्यमिक विद्यालय चापाकोट ९ स्याङ्जा तृतीय, विना घिमिरेको समूह रामपुर ६ र राधा आमा समूह चापाकोट नगरपालिका–६ केलादी सान्त्वना भएको निर्णायक मण्डलका संयोजक रामप्रसाद ढकाल (रमेश)ले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल समुहलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

सहभागीहरुले गीतमार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नुपर्ने कदम, नागरिकको भूमिकासहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा पारेका प्रभाव लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया