नवलपुरमा आत्महत्याको दर घट्यो


बोमलाल गिरी,नवलपुर, पुष २५ गते । नवलपुरमा आत्महत्याको दर घट्दै गएको देखिएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा पहिलेको तुलनामा आत्महत्या गर्नेको दर घट्दै गए पनि संङ्ख्या भने डरलाग्दो  छ । पछिल्लो तीन वर्षमा जिल्लामा तीन सय १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८‍-०७९ मा एक सय १६ जनाले आत्महत्या गरेको मा २०७९÷८० मा त्यो सङ्ख्या केही घटेर एक सय दुई जनामा सीमित छ । त्यस्तै २०८०-८१ मा ८९ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा ११ जनाले आत्महत्या गरेका प्रहरीको भनाइ छ । जसमध्ये ६ पुरुष, तीन महिला र दुई बालबालिका छन् ।

मृतक तीन सय १८ जनामध्ये एक सय ६६ जना पुरुष, एक सय आठ महिला, ४४ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । जिल्लामा चलाइएको सचेतनामूलक कार्यक्रम र व्यावसायिक मनोपरामर्शदाताका कारण आत्महत्याको दर केही घटे पनि अझै पनि यो तथ्याङ्क डरलाग्दो रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आत्महत्याको प्रमुख कारणमा मिटर ब्याज, ड्रग र गोप्य भिडियोहरू सार्वजनिक गरिदिनु रहेका छन् । मिटर ब्याजले मानसिक तनाव सृजना गर्ने, ड्रग्सले पारिवारिक र सामाजिक कलह निम्त्याउने र युवायुवतीमा गोप्य रूपमा खिचिएका भिडियोहरू पछि सार्वजनिक गर्नु जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

मध्यबिन्दु बहुमुखी क्याम्पसका समाजशास्त्र तथा मनोविज्ञानका प्राध्यापक करुण लम्सालले देखासिकी, सामाजिक सञ्जाल, आर्थिक सम्बन्ध र वैदेशिक रोजगारी आत्महत्या बढ्दै जानुका मुख्य कारण भएको बताउनुभयो ।

‘‘बालबालिकाहरूले मुख्यतः सामाजिक सञ्जाल र देखासिकीका कारण आत्महत्या गर्ने गरेको देखिन्छ, लम्सालले भन्नुभयो, वैदेशिक रोजगारी र आर्थिक कारणले महिला र युवतीहरूमा त्यसको असर परेको छ ।’’ यो समस्या समाधान गर्नका लागि स्वदेशमै रोजगारीको, आर्थिक अवस्थामा सुधार र विद्यालय तहबाटै बालबालिकाहरूलाई जनचेतना शिक्षा प्रदान गर्नु पर्ने उहाँको सुझाव छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार नेपाल आत्महत्या गर्ने मुलुकको आठौँ नम्बरमा छ । यहाँ एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गर्ने गरेका छन् ।

प्रतिक्रिया