कोरियामा मृत्यु भएका मणिप्रसाद भुसालको परिवारलाई आर्थिक सहयोग 


कावासोती, १० चैत 
दक्षिण कोरियामा मृत्यु भएका नवलपरासी(बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका ६ का मणिप्रसाद भुसालको परिवारलाई नवलपुर समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । गत फागुन २४ गते सुतेकै अवस्थामा दक्षिण कोरियामा मृत्यु भएका स्व.मणिप्रसाद भुसालको परिवारलाई नवलपुर समाज दक्षिण कोरियाले नगद छ लाख १२ हजार तीन सय ८६ रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

विगत छ वर्षदेखि कोरियामा कार्यरत ३३ वर्षका मणिप्रसाद भुसालको गत फागुन २४ गते सुतेकै अवस्थामा मृत्यु भएको थियो । दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत रहनु भएका भुसाल  ७० दिन अगाडि देखि कम्पनी परिवर्तन गर्नका लागि काम छोडेर होटेल मा बसिरहनु भएको अवस्थामा हृदयाघात का कारण मृत्यु भए पछि उहाँको शव नेपाल ल्याउन तथा परिवारलाई आर्थिक सहयोग गर्न भनी नवलपुर समाज दक्षिण कोरियाले रकम संकलन अभियान सुरु गरेको थियो ।
 सहयोग रकम सङ्कलन अभियान वाट कुल आठ लाख १२ हजार तीन  सय ८६ रुपैयाँ जम्मा भएकोमा शव नेपाल ल्याउँदा दुई लाख खर्च भएको र बचेको छ लाख १२ हजार तीन सय ८६ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको नवलपुर समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष हेम प्रसाद पाठकले बताउनु भयो ।
स्व.मणिप्रसाद भुसालको छोरी समीक्षा भुसालको पठन पाठनमा प्रयोग हुने गरी बुवा र श्रीमती संरक्षक रहने गरी छोरीको नाममा बैङ्क खातामा रकम राख्ने गरी सङ्कलित रकम हस्तान्तरण गरिएको पाठकले बताउनु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष पाठकले रकम सङ्कलनका लागि समन्वय गर्नु हुने कोरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सहयोग हस्तान्तरण कावासोती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यम बहादुर थापा, वडा सदस्य चुरीकला बस्याल, युवराज गैरे, नवलपुर समाज दक्षिण कोरियाका सचिव हेम राज चापागाईँ ,सल्लाहकार विष्णु प्रसाद काफ्ले, खेम प्रसाद काफ्ले , सदस्य रेसम काफ्ले लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया