बालिका अधिकार संरक्षण सम्बन्धी देवचुलीका जनप्रतिनिधिसँग छलफल


बालिका अधिकार संरक्षणमा जनप्रतिनिधिको भूमिकाको बारेमा देवचुलीमा महिला जनप्रतिनिधिहरू सँग छलफल र अन्तरक्रिया देवचुली १० बालिका सिकाई तथा स्रोत केन्द्रमा सम्पन्न गरिएको छ ।

जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र नवलपुर किशोरी सञ्जालको समन्वय र क्यान्नलनको सहयोगमा सो छलफल र अन्तरक्रिया सम्पन्न गरिएको आयोजक संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो । स्थानीय तहमा बालिका अधिकार र सामाजिक मुद्दाहरूको सम्बोधनको लागि जनप्रतिनिधिको भूमिकाको बारेमा बाल अधिकार कर्मी खिमानन्द भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले स्थानीय तहले आफूले गरेका साना साना कामको बारेमा पनि थाहा हुनुपर्ने र जनतालाई पुगेको फाइँदाको बारेमा पनि थाहा हुनुपर्नेमा जोड दिनुभयो । नगरले मानवीय विकास र सामाजिक विकासमा चासो दिँदै काम गर्नुपर्ने र भएका कामको चासो राखी जनताको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताउनु भयो । जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले संस्थाले कावासोती र देवचुलीमा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भएका कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमबाट आएका सुझाव प्रस्तुत गर्दै समाजमा व्याप्त हिंसा, शोषण र दुर्व्यवहार अन्तको लागि नीतिगत र सचेतनामूलक कार्यक्रमहरू सञ्चालनको आवश्यकता रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका शाखाको प्रमुख बिन्दु विकले नवलपुरमा विगत वर्षदेखि हाल सम्मका हिंसा र दुर्व्यवहारको तथ्याङ्क प्रस्तुत गर्दै अझै पनि हिंसा र दुर्व्यवहारको रोकथामको लागि काम गर्नुपर्ने बताउनु भएको थियो । आज पनि घरभित्र नै बालिका र महिलाहरू हिंसाको सिकार हुनुले समाजमा अझै पनि सामाजिक मुद्दामा काम गर्नुपर्ने देखिएको र यसको लागि स्थानीय तहका जनप्रतिनिधिहरू नै चासो राखी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

महिला जनप्रतिनिधि हुनुको नाताले पनि सक्षम महिला र समृद्ध नगरको निर्माणको लागि आजका बालिकाहरूमा लगानी गर्नुपर्ने र सचेतनामूलक सँगै अधिकार र कर्तव्य पनि सँगै सिकाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सदस्य सरस्वती पाठकले समाज रूपान्तरणको लागि महिला सशक्तीकरण आवश्यक रहेको र अब भोलिको समृद्ध देश निर्माणको लागि पनि महिला र बालिकामा लगानी आवश्यकता रहेको बताउनुभयो ।

आज पनि बालिका र महिलाले अनेक दुःख कष्ट भोगेर यहाँसम्म पुगेको र यसको दिगोपनको लागि महिला जनप्रतिनिधिहरूले अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो । किशोरीहरूलाई सक्षम र समृद्ध गराउन संस्थाले किशोरी सशक्तीकरण कार्यक्रम गरी छोटो समयमा आएको किशोरीहरूको परिवर्तनले अवसर र लगानी गर्न सकिने हो भने कुनै पनि किशोरी कुनै पनि हिसाबमा किशोर भन्दा कमजोर नरहेको प्रमाणित भएको र आजका किशोरी सक्षम गराउन सकिएमा भोलिका दिनमा राजनीतिक हिसाबले र अन्य ठाउँमा महिलाहरू निर्णायक ठाउँमा पुग्ने बताउनु भयो ।

कार्यक्रममा किशोरी अभियन्ताहरू रितिका पोख्रेल र सुधा सुनारले हिंसा र शोषण विरुद्ध महिलाहरू कालीको अवतार लिन पनि सक्ने हुँदा बालिका र महिलाहरूलाई हिंसा, शोषणमा नराख्न सचेतनाको लागि गीति नाटक पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा देवचुली नगरका सबै १ देखि १७ वार्डका महिला जनप्रतिनिधिहरू र किशोरीहरुहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दिपक न्यौपानेले र अध्यक्षता नवलपुर किशोरी सञ्जालका सदस्य रितिका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम देवचुली १० मा निर्माणाधीन रहेको वालिका अध्ययन तथा स्रोत केन्द्रमा भएको थियो ।

प्रतिक्रिया