पूर्वसहकारी रजिष्ट्रार पराजुलीलाई २० लाख धरौटीमा छाड्न आदेश


चैत ९ गते । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले बिहीबार पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा पुस ११ गते पक्राउ पर्नुभएका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बिहीबारै मित्रमिलन बचत तथा ऋण सहकारीका शेयर सदस्य जनकराज पौडेललाई पनि सात लाख धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले उच्चको पत्र आइनपुगेको जनाउनुहुँदै पत्र आएपछि धरौटी दाखिला भए पराजुली छुट्ने जानकारी दिनुभयो ।

जिल्ला अदालत कास्कीले पराजुलीसहित सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई थुनामा पठाएको थियो । पराजुलीले सहकारीको कार्यक्षेत्र थप गर्न भनी एक करोड पच्चीस लाख रुपियाँ लिएको अभियोग छ ।

पक्राउ पर्दा पराजुली पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । मङ्सिर २६ गते पक्राउ पुर्जी जारी भएपछि पराजुली सम्पर्कविहीन हुनुभएको थियो ।

सहकारी रजिष्टार कार्यालयको प्रतिवेदनले मित्रमिलन सहकारीमा करिब २७ करोड रुपियाँ अपचलन भएको देखाएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसमेत पक्राउ पर्नुभएको । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई कात्तिक ४ गते नै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया