हिंसा अन्त्यको लागि घरबाट नै सुरु गरौँ र सशक्तीकरण तर्फ लगानी गरौँ : नवलपुरका सरोकारवालाहरू


मध्यविन्दु, १५ मङ्सिर,  समाजमा व्याप्त किशोरीहरू र महिलाहरूमाथिको हिंसा अन्तको लागि घरबाट नै सुरक्षित अभियानहरू सुरु गर्नुपर्ने र वर्तमानका किशोरीहरूमा सशक्तीकरणका अभियानहरू सुरु गर्न सकेमा मात्र प्रभावकारी हुने नवलपुरको मध्यविन्दुमा सम्पन्न भएको अन्तर संवाद कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत नवलपुरको मध्यविन्दुमा गरिएको अन्तर संवादमा बोल्ने सहभागीहरू र किशोरीहरूले हिंसाको रोकथामको लागि सवै जना लाग्नुपर्नेमा जोड दिनुभएको थियो । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा नवलपुरमा लामो समय देखी विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुनुहुने वक्ताहरूले आफ्नो अनुभव र भोगाई किशोरीहरूसँग आदानप्रदान गर्नुभएको थियो ।
जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिराखेको तैपनि किशोर अवस्थाका विभिन्न समस्याहरू रोकथाम नहुनु र दैनिक रूपमा फरक फरक खालका समस्याहरू आउनुले चिन्ता लाग्ने गरेको जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका सेल प्रमुख विन्दु वि.क.ले बताउनुभयो ।
मेरो शरीर मेरो अधिकार हो भन्ने कुरा नै अहिलेका किशोरीहरूले नबुझ्ने हुँदा र लहलहैमा नै लाग्नाले यस्ता समस्याहरू बढ्दै गएकोमा यसको लागि सवै जना लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू किशोर अवस्थाबाट नै किशोरी सशक्तीकरणमा अभियानमा जोडिएकोले कति समस्याहरूबाट आफै जोगिन सफल भएको र समय मिलाएर अरूलाई समेत सिकाउने गरेको तैपनि समाजमा रहेकाले सानो उमेर देखेर विश्वास नगर्ने र अभिभावकहरूले पनि डर, चिन्ता र त्रास देखाउनाले सामाजिक क्रियाकलापमा अग्रसर हुनबाट रोकिनुपर्ने कावासोतीको किशोरी अभियन्ता शसी कार्की क्षेत्रीले बताउनुभयो ।
किशोरीहरूमाथि भएका समस्याहरूको समाधानको लागि स्वयम किशोरी लक्षित नै कार्यक्रमहरू सबै निकायले नगर्दासम्म यो समस्या समाधान नहुने र सबैले विश्वास समेत गर्नको लागि उहाँले अनुरोध गर्नुभयो ।
आफू किशोर अवस्थामा हुँदा यस्ता खालका कार्यक्रमहरू नहुनुले पछि परेको जस्तो लाग्ने गरेको र आफूले आफ्नो लागि विश्वास गरेर अगाडी बढ्दा घरपरिवारले विश्वास गर्ने हुँदा खुसी लाग्ने गरेको युवा अभियन्ता मनीषा पौडेल बताउनुहुन्छ ।
 पढाई सँगै अतिरिक्त क्रियाकलापहरूमा समेत सहभागी हुँदा आज विभिन्न फोरमहरूमा सहभागी हुने अवसरहरू मिल्दै गएकोमा खुसी समेत लागेको उहाँले बताउनुभयो ।
सबै पुरुषहरू हिंसा गर्न नै जन्मिएका होईनन र हामी किशोरीहरू र महिलाहरू पनि आफ्नो लागि कर्तव्य पथमा हिँडियो भने सफल हुन सकिँदो रहेछ भन्ने लाग्ने गरेको बताउनुभयो ।
नेपाल रेडक्रसबाट स्विजरल्याण्ड सम्म अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान पाउँदा होस वा अन्य कार्यक्रममा आफ्नो क्षमता देखाउँदा होस अझै पनि हाम्रो क्षमता माथि समाजले प्रश्न चिन्ह उठाउने गरेकोले दुखी लाग्ने गरेको अर्की अभियन्ता प्रीन्सी काफ्लेले दुखी नभई खुसीका साथ अगाडी बढ्न सकिए मात्र यो समाजले स्विकार्ने रहेछ भन्ने महसुस रहेको बताउनुभयो ।
छोरी मात्र भएको घर होस वा अरू घर सबैले समान रूपमा अवसर दिन सकेमा मात्र यो हिंसा र शोषणको अन्त्य हुने हुँदा सम्पूर्ण किशोरीले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने र यसको लागि शिक्षा पहिलो अस्त्र रहेको र यो सँगै अरू सामाजिक सिकाइहरू समेत सँगै लैजानुपर्नेमा प्रिन्सी काफ्लेले बताउनुभयो ।
नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम लागु गरी अनुशासित र शैक्षिक क्रियाकलापहरूलाई व्यवस्थित रूपमा अगि बढाउन पहलहरू गरिरहेको र विद्यालय भित्र हुने हिंसा, शोषण र असमानता अन्त्यको लागि समेत शिक्षा शाखा प्रतिबद्ध रूपमा लागिरहेको बताउनुभयो ।
अन्तर संवाद कार्यक्रममा सहभागीहरूले पाठ्यक्रमहरूमा यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षाको बारेमा जानकारी, विद्यालयहरूमा किताब भन्दा बाहिरी कुराहरू पढाई नहुनु, अनुशासनको बहानामा किशोर किशोरीमाथि गरिने क्रियाकलापले अबको पुस्ता अझै समस्यामा पर्न सक्ने हुँदा सबै सरोकारवालाहरूको ध्यानाकर्षणको लागि समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सहजकर्ता धनु भुसालले जिल्लामा स्थानीय सरकारहरूले र सरोकारवालाहरूले गर्नुपर्ने धेरै कार्यहरू रहेको र यो तर्फ ध्यान दिन नसक्दा समस्याहरू बढिरहेकोले यसतर्फ समेत लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल, नवलपुर किशोरी सञ्जाल, क्रियाशील पत्रकार महिला नवलपुर र क्यान्नालनको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो । कार्यक्रममा देवचुली, कावासोती र मध्यविन्दुका बाल सञ्जालका पदाधिकारीहरू, किशोरीहरू र अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया