हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना आवश्यक


कावासोती,१७ मंसिर,लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कावासोती नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिन्छ । यो वर्ष “हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यही सन्दर्भमा रहेर कावासोती नगरपालिकाले शिक्षक र वडा सदस्यहरूलाई लैङ्गिक हिंसा र कानुनी प्रावधानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको हो । शिक्षक मार्फत विद्यार्थीहरूलाई लैङ्गिक हिंसाको बारेमा र यो सँग सम्बन्धित ऐन, नियमका विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो । त्यस्तै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै अधिकृत पाण्डेले सबै वडाका जनप्रतिनिधि मार्फत प्रत्येक घरघरमा हिंसा के हो र किन हिंसा सहनु हुन्न भन्ने विषयमा जानकारी गराउने बताउनुभयो ।


कार्यक्रमको उद्घाटन गर्दै कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले हिंसा न्यूनीकरणको लागि सुरुमा चेतनाको विकास गर्नुपर्ने बताउनुभयो । यसको लागि विद्यालय स्तरबाट नै शिक्षकहरू मार्फत हिंसाका कारण, प्रकार, प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्नको लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक अधिवक्ता राधा उपाध्यायले लैङ्गिक हिंसा र यसका प्रकार, महिला माथि हुने लैङ्गिक हिंसाको स्वरूपका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै लैङ्गिक समानताका लागि बनेका कानुनी व्यवस्थाका विषयमा प्रस्टाउनुभएको थियो । लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणका लागि संवैधानिक तथा कानुनी व्यवस्था, राज्यको नीति तथा कार्यक्रम निर्माण, संरचनात्मक व्यवस्था गरेर आम नागरिकमा जनचेतना, महिला सशक्तीकरण आवश्यक रहेको अधिवक्ता शर्माले बताउनुभयो ।


त्यस्तै कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा जानकारी गराउनुभयो । पछिल्लो समय हिंसाका स्वरूपहरू परिवर्तन भएको भन्दै वैदेशिक रोजगारीले सिर्जना गरेका हिंसा बढ्दो रहेको बताउनुभयो । म हिंसा सहन्न र गर्दिन भन्ने कुरा व्यवहारमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) प्रमुख विन्दु विकले जिल्लामा बालबालिका बढी यौनजन्य हिंसामा परेको बताउनुभयो । चालु आर्थिक वर्षको चार महिनामा जघन्य अपराज अन्तरगत जबरजस्ती करणीमा ६ वटा मुद्दा दर्ता भएको, जबरजस्ती उद्योगमा एउटा, बाल यौन दुर्व्यवहार ३ वटा र बहुविवाहमा २ वटा मुद्दा दर्ता भएको महिला सेल प्रमुख विकले जानकारी दिनुभयो ।


कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले हिंसा न्यूनीकरणका लागि १६ दिने अभियानमा मात्र होइन अन्य समयमा पनि अव नगरपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा कावासोती नगरपालिकाको कानुनी सल्लाहकार ऋषि अधिकारीले हिंसाका स्वरूप र न्यूनीकरणका उपायहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले हिंसाको जोखिममा धरै बालबालिका भएको हुँदा विद्यालय स्तरबाट नै सचेतनाका कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी शिक्षक र जनप्रतिनिधिले हिंसा न्यूनीकरण गर्नको लागि कानुनी सचेतना आवश्यक रहेको बताएका थिए । कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा (छैंठौ अधिकृत) सुभद्रा शर्माले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया