अवलोकनको गन्तव्य घरबास गाउँ
कावासोती, मङ्सिर १८ गते । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालित बाघखोर गाउँलाई नै घरबास गाउँका रूपमा घोषणा गरेपछि अध्ययन तथा अवलोकनको गन्तव्य स्थलका रूपमा विकास भएको छ ।
जिल्लाको कावासोती–१५ स्थित सीमान्तकृत समुदायमा पर्ने थारू, बोटे, मुसहरलगायतका जातजातिको बसोबास रहेको यस ठाउँमा सञ्चालनमा आएको अमलटारी सामुदायिक घरबाससँगै यो गाउँ यतिखेर गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
गाउँ पस्नासाथ परम्परागत पोसाकमा सजिएका थारू महिलाले टीकासहित फूलमालाले स्वागत गर्दा यहाँ आउने जोकोहीको मन पनि फुरुङ्ङ हुने गर्दछ । कावासोती नगरपालिका–१५ स्थित अमलटारी थारू संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रूपमा विकास भएको हो । थारू समुदायद्वारा सञ्चालित घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
अमलटारी घरबास व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर थारूले संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको घरबासले अहिले व्यावसायिक सफलता पाउँदै गएको बताउनुभयो । पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक तथा बाह्य पर्यटकले अहिले घरबास भरिभराउ हुने गरेको उहाँले बताउनुभयो २०७० सालमा १८ वटा घरबाट सुरु भएको घरबासमा अहिले ३३ घर पुगेका छन् । नेपालकै उत्कृष्ट मानिने अमलटारी घरबास अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बनेको उहाँको भनाइ छ ।
बर्दघाट नगरपालिकाबाट शैक्षिक भ्रमणमा आएकी प्रतिभा घिमिरेलाई थारू गाउँको प्राकृतिक सौन्दर्य साथै यहाँको कला संस्कृति राम्रो लागेको बताउनुहुन्छ । सफारी गरी उहाँले यहाँ हात्ती, गैँडा, बँदेल, मयूरलगायतका जनावर प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको बताउनुभयो । यस्तै बर्दघाटबाट आएकी दिपिसा चौधरीले पनि यहाँ देखाइने थारूको सांस्कृतिक नृत्य, स्थानीय खाना र जिप सफारीले नै आफूलाई आकर्षित गरेको बताउनुभयो ।
घरबासमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । अध्यक्ष थारू भन्नुहुन्छ, “घरबास गाउँमा अमेरिका, अस्ट्रेलिया, युके, क्यानडाबाट विदेशी पाहुना आउने गरेका छन् । दैनिक ५० देखि एक सय पर्यटक आउनुहुन्छ ।”
अमलटारीलाई सरकारले गाउँ गन्तव्य २०७२ समेत घोषित गरेपछि राष्ट्रियस्तरका कार्यक्रमसमेत घरबासमा नै हुने गरेका छन् । प्रायः स्वदेशी पर्यटक यस घरबासमा बस्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोर क्षेत्रमा घरबास सञ्चालनपछि यहाँको आर्थिक विकासमा ठुलो सहयोग पुगेको छ । यहाँ रहेका मध्यवर्ती सामुदायिक वनमा मुख्य गरी गैँडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
यहाँ सञ्चालित घरबासमा थारू, बोटे समुदायका संस्कृति, रीतिरिवाज, रहनसहन बुझ्न, अवलोकन गर्नसमेत पर्यटक आउने गर्दछन् । घरबास बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको कावासोती डन्डाबाट करिब सात किलोमिटर दक्षिणमा रहेको छ ।