मोरङ, तेह्रथुम र भोजपुरमा आगलागीबाट ३२ घर जलेर नष्ट


काठमाडौँ– मोरङ, तेह्रथुम र भोजपुर जिल्लामा शनिबार भएका आगलागीका घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन्।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ मा शनिबार अपराह्न भएको आगलागीमा परी सन्थाल समुदायका २२ वटा घर जलेका छन्। सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिकालगायत आसपास क्षेत्रका पालिकाहरूका दमकल प्रयोग गरिएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीको भनाइ छ। बाँस, सन्ठीजस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरू भएकाले आगो चाँडै फैलिएको थियो।

त्यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा शनिबार नै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार जंगलबाट शुरू भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो। आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका हुन्।

आगलागीबाट विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई, पदम कार्कीको एउटा र बसोबास नभएको एउटा गरी ६ वटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चार वटा घर जलेका छन्। प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन्।

आगलागीबाट स्थानीयका घरगोठसहित लत्ताकपडा, भाँडावर्तन, अन्नपात, पशुचौपायासहितका धनमाल जलेको छ। नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेर स्थानीयका वासस्थानमा क्षति पुगेको प्रहरीले जनाएको छ।

सप्तरीमा ३० लाखको क्षति
सप्तरीको राजविराजस्थित रूपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार नै भएको आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ। आगलागीबाट टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडा जलेका छन्।

आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई बताएका छन्। स्थानीय, प्रहरी र राजविराजबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रामेछापमा करोडौँको क्षति
रामेछापको रामेछाप नगरपालिका–९ मा भएको आगलागीबाट एक करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेका थिए।

प्रहरीका अनुसार आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर नष्ट भएका हुन्। आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत अनुगमन गरी क्षति विवरण संकलन गरिएको थियो।

प्रतिक्रिया