वन डढेलो रोकथामका लागि विशेष अभियान


मध्यविन्दु,७ चैत,(रासस)ः
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ ।
जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत्र १ गतेदेखि ७ गतेसम्म “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहन राज काफ्लेले बताउनुभयो । जस अन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू गरिएको छ ।


कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्कृया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताउनु भयो । “चैत्र १ गतेदेखि सुरू भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाई गर्ने र पूर्व तयारीका कार्यक्रम गरिएको छ” उहाँले भन्नु भयो ।
वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले यस जिल्लाको अधिकांश सामुदायिक वनहरु डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।


वन डढेलो जोखिम उच्च जिल्लाहरु मध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व) १६ औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख काफ्लेले बताउनु भयो । जिल्लामा ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ ।
“वन जंगलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय बारे सरोकारवालाहरुलाइ जानकारी गराउने काम गरिएको छ” उहाँले भन्नु भयो “जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षती, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरुमा सुचित गरिएको छ ।”
नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत ,प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत बन डढेलोका कारण थाहा नभएको काफ्लेले बताउनु भयो । “घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको शिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठूलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृतिको रोकथामका लागि काम गर्नु पर्ने देखिन्छ” उहाँले भन्नु भयो ।
डढेलोले जन धन , वन र जैविक विविधता तथा पारिस्थीतिक प्रणालीमा समेत क्षति गर्ने हुदा यस्को रोकथाममा उपभोक्ता , वन हेरालु र वन उपभोक्ताको उप समिति , नेपाली सेना संग सहकार्य गरि अभियान सञ्चालन गरिएको हो ।
यसैविच आगलागिका कारण निम्तिने विपदलाई न्यूनीकरण गर्न जिल्लाकै देवचुली नगरपालिकामा फायर हाइड्रेण्ट जडान गरिएको छ । सम्भावित घटनालाई सहज वातावरण सृजना गर्न फायर हाइड्रेण्ट जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।
“आगलागी जस्ता घटनामा दमकललाई तत्काल पानी भर्न सहज होस् भन्ने हेतुले फायर हाइड्रेण्ट जडान गरेको हो” अध्यक्ष भुसालले भन्नु भयो “यस अघि देवचुली नगरपालिका १४ र ११ नम्वर वडामा जडान गरिएको उक्त उपकरण अब बाकीँ वडाहरुमा समेत जडान गरिने तयारी गरिएको छ ।”

 

 

प्रतिक्रिया