मदारबाबा मेलामा एकको मृत्यु
मध्यविन्दु, २ फागुन :
मदारबाबा मेला जानका लागि पहाड चढ्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा आज बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताउनुभयो ।
भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आउनुभएको थियो । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।
बाक्लो भीडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारीदेखि बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठाको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दूले वर्षौंदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।
–––