किशोरी अधिकार संरक्षणको लागि सवैले सोच्नुपर्ने


किशोरी अधिकार संरक्षणको लागि सवैले साझा सोच्नुपर्ने आज कावासोतीका सरोकारवालाहरुले एक कार्यक्रममा बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरिराखेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तगर्तको कावासोती ५ मा सम्पन्न भएको कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सो कुरा बताएका हुन । वडाध्यक्ष निरजकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि टोल बिकास, आमा समुह विद्यालय, वन समुह लगायतका सामाजिक संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कार्यक्रमको औचित्यमाथी सहजीकरण गरेकी थिईन् । उहाँलेकावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम, कार्यक्रमको उदेश्य र कार्यक्रम को विषयवस्तुहरु र अहिले भैरहेका गतिविधिहरुको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.कले नवलपुरमा महिला बालवालिकासँग सम्वन्धित हिंशा तथा दुव्र्यवहारका घटना तथा मुद्धाका विषय र अवस्थाका बारेमा तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा नागरिक, सामाजिक संघसंस्था र समाज र अभिभावक समेतले अवलम्वन गर्नुपर्ने विषयमा सहजिकरण गर्नुभएको थियो । सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले हिंसा सहेर बस्दा आपराधिक मानसिकता र प्रवृति मौलाउने भएकाले सवैले प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । अझै पनि समाजमा फरक फरक सामाजिक बिकृति विद्यमान रहेको स्वीकार्दै वडालाई बिकृति–विसंगति र हिंसामुक्त बनाउन नागरिक तहमै सचेत हुन जरुरी रहेको वडाध्यक्ष पुनको भनाई थियो । वडाध्यक्ष पुनले कानुनलाई अझ कडाइका साथ लागू गर्ने र अभिभावकले आफ्ना बाबु–नानीका गतिविधिलाई नजिकबाट नियाल्दै आफैंमा जागरण ल्याउन आवश्यक रहेको औल्याए । कावासोती नगरपालिकाका १७ वटै वडामा क्रमिक रुपमा चलिरहेको कार्यक्रमले किशोरी शशक्तिकरणमा कोशेढुँगा सावित हुने अपेक्षा लिईएको जागृति बाल तथा सरोकार नेपालका महासचिव दीपक शर्मा बताउछन् । ४२ जना सहभागी उपस्थित कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलानको आयोजना र वडा कार्यालय र सामुदायिक प्रहरीको समन्वयमा भएको हो ।

प्रतिक्रिया