फागुन ३ गते देखि ७औँ नवलपुर महोत्सव कावासोतीमा हुँदै


कावासोती । कावासोतीमा फागुन ३ गतेदेखि १३ गते सम्म सातौ नवलपुर महोत्सव हुने भएको छ । स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रर्वधन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रर्वधन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले बताउनु भयो ।

महोत्सवमा आठै पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्वन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निशुल्क हुने भएकाले पनि अहिलेको ब्यवसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने उहाको दावी छ । महोत्सवमा संस्कृतिसँग सम्वन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकले जानकारी दिएको छ ।

रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ ।
यस्तै, महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि बाल उद्यान, सास्कृतिक मञ्च र समारोह, विभिन्न ब्यवसायिक स्टल तथा प्रदर्शनी बाहेक विद्यार्थीहरुद्धारा निर्मित विज्ञान प्रदर्शनी र प्रतियोगिता, टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता, विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी, पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी एवं प्रचारप्रसार लगायतका गतिविधि समेटेर यहाँको आर्थिक–ब्यवसायिक उत्थानमा मदत पुर्याउने लक्ष्य रहेको महासचिव सागर पोखे्रलले बताउनुभयो।

१ करोड ८५ लाख रुपैंया आर्थिक कारोवार हुने लक्ष्य लिएको उद्योेग वाणिज्य संघले १ करोड ४० लाख खर्च हुने अनुमान गरेको छ । करीव ५ लाख जनाले महोत्सवको प्रत्यक्ष–अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी छ ।

प्रतिक्रिया