मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय स्थापना हुदै


मध्यविन्दु,२६ माघ,(रासस),
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिभिटी) ले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडी बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)कोमध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो ।
मध्यविन्दु नगरपालिका नवजागरण नमुना मा.वि. र स्थानीय तहबाटै जग्गा व्यवस्थापन लगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरी परिषद्को आंगिक शिक्षालयको रुपमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम जग्गा प्राप्ती लगायतको प्रक्रिया अगाडी बढेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–६ मा शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तीको प्रक्रिया बढाइएको छ ।
परिषद्ले माघ २० गते मध्यविन्दु नगरपालिकालाई बोधार्थ गरेर सिटिभिटी गण्डकी प्रदेशलाई पत्रचार गर्दै मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यक पर्ने विद्यार्थीको चाप, रोजागरीको अवसर, जग्गा, भवन, भौतिक पूर्वाधारको अवस्था र सम्भावित विषयहरु पहिचान साथै शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तीको प्रकृया अगाडी बढाउन प्रतिनिधि खटाई स्पष्ट अध्ययन गरि प्रतिवेदन पेश गर्न भनेको छ ।
आगामी शैक्षिक सत्र देखि नै शिक्षालयबाट अध्ययन शुरुवात गराउने गरी बहुप्राविधिक शिक्षालयलाई प्राथमिकतामा राखेर काम भइरहेको मध्यविन्दु नगर प्रमुख अधिकारीले बताउनुभयो । “नवजगारण नमुना मा.वि.को मध्यविन्दु नगरपालिका–६ रहेको जग्गा मध्ये पाँच विगाह जग्गा सिटिभिटीको आंगिक शिक्षालयको रुपमा स्थापना हुने नवजागरण बहुप्राविधिक शिक्षालयलाई भाडामा प्रदान गर्ने र प्राशासनिक लगायत थप आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिका मार्फत नै जग्गा खरिद गर्नेगरी काम भइरहेको छ” नगरप्रमुख अधिकारीले भन्नु भयो ।
मध्यविन्दु–६ मा शिक्षालय स्थापना हुदा सम्म नवजागरण नमुना मा.वि.को मध्यविन्दु–७ चोरमारा बजारमा रहेको पुरानो भौतिक संरचनाको मर्मत गरेर शिक्षालयबाट पढाई सञ्चालन हुनेछ । जग्गा तथा भौतिक पूर्वाधारको विद्यालय र नगरपालिकाले व्यवस्थापन गरेपश्चात नवजागरण बहुप्राविधिक शिक्षालय सिटिभिटिले आफ्नै व्यवस्थापनमा सञ्चालन गर्नेछ । सिटिभिटिले प्राविधिक विषयहरु सञ्चालनको लागि यस अगाडी जिल्लाको विभिन्न स्थानमा शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएपनि आफ्नै व्यवस्थापनमा जिल्लामा पहिलो पटक आंगिक शिक्षालय सञ्चालन गर्न लागेको हो ।
बहुप्राविधिक शिक्षालयमा पहिलो चरणमा कृषि बिज्ञान, बाली बिज्ञान, पशु बिज्ञान र वन बिज्ञान संकायमा पढाई हुनेछ । त्यसपस्चात आवश्यकताको आधारमा थप संकायका प्राविधिक विषय समेत सञ्चालन हुने सिटिभिटिले जनाएको छ ।

प्रतिक्रिया