नवलपरासी पूर्वमा नमुना मतदान


आसन्न निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले जिल्लाको आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढंगको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख लालप्रसाद भुसालले बताउनु भयो । जिल्लाका आठ वटै पालिकामा नमुना मतदान सञ्चालन गरिने छ । कावासोती,मध्यविन्दु,देवचुली र गैंडाकोट नगरपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेको छ ।

‘नमुना मतदान सँगसँगै मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखि अगाडि बढेका छौं,’ उहाले भन्नु भयो, ‘जिल्लाकै ९२ वटै वडामा १ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी वडास्तरबाटै मतदान शिक्षा पनि दिइरहेका छौं ।’
निर्वाचन कार्यक्रम अन्तर्गत यहिं २६ गते निर्वाचन क्षेत्र नम्वर १ का मतदान अधिकृत र २७ गते क्षेत्र नम्वर २ का मतदान अधिकृतहरुलाई तालिम सञ्चालन गरिने तयारी गरिएको छ । २९ र ३० गते निर्वाचन समाग्रि हस्तान्तरण गरिने निर्वाचन कार्यालयका प्रमुख भुसालले जानकारी दिनु भयो ।
नवलपुरमा जम्मा मतदाता २ लाख ६० हजार ४६१ जना रहेका छन् । जिल्लामा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाभर पुरुष मतदाता १ लाख २४ हजार ३३६, महिला मतदाता १ लाख ३६ हजार १२१ र अन्य मतदाता ४ गरी जम्मा २ लाख ६० हजार ४६१ जना रहेका छन् । जिल्लामा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया