मंसिर २ देखि ४ गतेसम्म भारतीय सीमा सिल गरिने
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको समयमा भारतिय सीमा ७२ घण्टा सिल गरिने भएको छ । भारत बिहारको रक्सौलमा मंगलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रखुख र उच्च अधिकारीहरुको बैकले आगामी निर्वाचनका लागि मंसिर २ देखि ४ गते सम्म सीमा सिल गर्ने सहमति गरेको हो । भारतको बिहार राज्य सँग सीमा जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन , नवलपरासी ब.सु.पूर्व र नवलपरासी पश्चिमका सीमा मंसिर २ गते देखि ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो । प्रतिनिधि मण्डलमा नेपालको तर्फबाट बैठकमा नेतृत्व गर्नु भएका नवलपरासी ब.सु.पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार बैठकमा सूचना प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको जानकारी दिनु भयो । भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले नेतृत्व गर्नु भएको थियो । बैठकमा नेपालका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।