जोगबनीमा नेपालीको शव फेला


मोरङ – विराटनगर नजिकैको भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला परेको छ । विराटनगर ५ कोचाखालका ४५ वर्षीय सञ्जय राईको शव जोगबनी बजार नजिकैको खोला किनारमा भेटिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

जोगबनीस्थित रेल–वे स्टेसन नजिकैको खोलामा राईको शव फेला परेको भारतीय सुरक्षाकर्मीले बताएका छन् । राईको शव भेटिएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएका थिए ।

शवको प्रकृति हेर्दा बाढीले बगाएर राईको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको थप छानबिन सुरु गरिएको एसपी जिसीले जानकारी दिए ।

प्रतिक्रिया