कीर्तिपुरमा दम्पतीमाथि मरणासन्न हुने गरी कुटपिट, छिमेकी पक्राउ


काठमाडौं – कीर्तिपुर नगरपालिका–५ स्थित भत्केको पाटीमा स्थानीय राधेश्याम विष्टले छिमेकीलाई मरणासन्न हुने गरी कुटेका छन् । भुकम्पले चर्केको पर्खाल बनाउँदा ‘आफूलाई नसोधेको र हो–हल्ला गरेको’ निहुँमा ७० वर्षीय नेत्रप्रसाद खनाल र सरस्वती खनाललाई विष्टले कुटपिट गरेका हुन् ।

विष्टले गमलाले हिर्काउँदा नेत्रप्रसादको फिस्टुला फुटेको र मिर्गौला डायलासिस गर्न समस्या भएको छोरी सम्झना खनालले बताइन् । सम्झनाका अनुसार सरस्वतीको टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिटमा संलग्न राधेश्याम विष्टलाई शुक्रवार पक्राउ गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले बताए । पोखरेलले भने, ‘पीडितको जाहेरीका आधारमा अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’ बिहीबार राति अबेरसम्म पर्खाल बनाउँदा ‘हल्ला भएको’ भन्दै विष्ट शुक्रवार विहान दम्पतीबिरुद्ध आक्रमणमा उत्रिएका थिए ।

प्रतिक्रिया