मानव बेचबिखनको आरोपमा कावासोतीका एक युवा पक्राउ


काठमाडौँ । पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१७ दुधपाटीबाट मंगलबार पक्राउ गरेको हो । क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेका थिए ।

त्यसपछि मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगी आफ्नै साथीलाई देखाई झुक्याएका थिए । साथै क्षेत्रीले उपचारको लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरेको भनी झुटो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रुपैयाँ समेत ठगी गरेका थिए ।

प्रहरीका अनुसार उपचारको व्यवस्था मिलाउन भनी झुटो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । क्षेत्रीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया