वारदातको अघिल्लो दिनमात्र शालिनले गाएकी थिइन् ‘क्षमा पाउँ आमा’ गीत


काठमाडौँ । चितनवको रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालिन पोखरेलको मृत्युबारे यतिबेला विभिन्न कोणबाट बहस भइरहेको छ । उनको मृत्युको विषयमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दायर भइसकेको छ ।

सोही स्कुलको होस्टलको कोठामा गत फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी शालिनले वारदातको अघिल्लो दिन अर्थात् फागुन ११ गते विद्यालयमै आयोजित ‘इएसएन गट ट्यालेन्ट’ कार्यक्रममा ‘क्षमा पाउँ आमा’ बोलको गीतसमेत गाएको सहपाठीहरूले बयानका क्रममा खुलाएका छन् ।

सरकारी वकिलको रोहवरमा शालिनका सहपाठीले बयान दिने क्रममा वारदातको अघिल्लो दिन शालिन आफैँले एउटा गीत गाउँछु भनेर कार्यक्रममा ‘क्षमा पाउँ आमा’ बोलको गीत पाएकी थिइन् ।

  • घटनाको दिन के भएको थियो ?

वरुण (नाबालिग रहेका कारण नाम परिवर्तन गरिएको) ले फागुन १२ गते बिहान ९ः३० बजेको समयमा क्यान्टिनमा गएको अवस्थामा आफूलाई सन्तोष भुजेल (शिक्षक)ले शालिन पोखरेलको कोठामा गई बोलाएर आउन भनेको बयान दिएका छन् ।

विद्यालयको ३ तला माथि रहेको छात्रा होस्टेलमा गइ शालिन पोखरेललाई आफूले ‘ओई ! तँलाई खाना खान सन्तोष सरले बोलाउनु भएको छ’ भनेको तर शालिनले जवाफमा भित्रबाट ‘मलाई खाना खान मन छैन, आउँदिनँ’ भनेको बयान वरुणले दिएका छन् ।

आफूले माथिबाट नै चिच्याउँदै (सरले सुन्ने गरी) ‘शालिनले भनेको, खाना खान मन छैन रे’ भनेको पनि उनले खुलाएका छन् । बयानमा उनले भनेका छन्– त्यसपछि सन्तोष सरले तलबाट नै मैले बोलाको छ भनी बोलाउन भनेर भन्नुभएपछि मैले पुनः सालिनको कोठा बाहिर गइ पटकपटक बोलाएकोमा निजले आज मलाई खाना खान मन छैन भनी आउन नमानेपछि म तल ग्राउण्डतिर गइ साथीहरूसँग खेल्न गएको हुँ ।

केही समय खेलेर बुबा–आमासँग घरमा गएको तर बिहान ११ बजेतिर घरमै बसिरहेको अवस्थामा एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी शालिन पोखरेल आफू बस्ने गरेको छात्रा होस्टेलको कोठाभित्र झुण्डी मृत अवस्थामा फेला परेको भन्ने सुनेको उनले बयान दिएका छन् ।

अर्की सहपाठी सुरुची (नाम परिवर्तन) ले शालिन पोखरेल र आफूले एनसीसी तालिममा समेत एक साथ रहेको जनाएकी छन् । एक सय दिनको तालिममध्ये ७९ दिन विद्यालयमै र बाँकी २१ दिन नवलपुर जिल्लामा रहेको राष्ट्रिय सेवा दल नवलपुर हात्तीखोर तालिम केन्द्रमा एकसाथ तालिम गरेको उनले बयानमा खुलाएकी छन् ।

‘उक्त तालिममा सहभागी भई हामीले विभिन्न विधामा सहभागी हुँदा कविता तथा गीतहरू गाउने क्रममा शालिन पोखरेलले पनि ‘क्षमा पाउँ आमा’ शीर्षकको गीत गाएकी थिइन्,’ बयानमा सुरुचीले भनेकी छन्, ‘निजले मसँग भेट भई कुराकानी हुँदा आमा विदेशमा हुनुहुन्छ, मलाई आमाको धेरै याद आउँछ भन्ने गर्थिन् । हामी तालिम पश्चात् विद्यालयमा आइ आफ्नो पढाइतिर लाग्यौँ ।’

फागुन ११ गते शुक्रबारको दिन विद्यालयमा आयोजित प्रोग्राममा पनि शालिन पोखरेल आफैँले एउटा गीत गाउँछु भनी ‘क्षमा पाउँ आमा’ बोलको गीत गाएको बयान उनले दिएकी छन् ।

फागुन १२ गते बिहान अन्दाजी ११ः०० बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा एकता शिशु निकेतनमा कक्षा ८ मा पढ्ने शालिन पोखरेल आफ्नै होस्टेल कोठामा झुण्डी मृत अवस्थामा फेला परेको भन्ने सुनेर घटनाबारे आफूले थाहा पाएको बयानमा उनले खुलाएकी छन् ।

अर्की सहपाठी कामना (नाम परिवर्तन)ले पनि ‘एनसीसी’ तालिममा शालिन र आफू नवलपुरस्थित हात्तीखोर तालिमकेन्द्रमा समेत साथ रहेको भन्दै शालिनले त्यतिबेला पनि आमाको सम्झनामा ‘क्षमा पाउँ आमा’ बोलको गीत गाएको बताएकी छन् ।

गीत सुनेर आफूहरूमध्ये धेरै जना रोएको पनि उनले बताएकी छन् । शालिनले आफूहरूलाई ‘आमा विदेशमा हुनुहुन्छ, मलाई आमाको धेरै याद आउँछ’ भन्ने गरेको पनि उनले खुलाएकी छन् ।

अर्की छात्रा प्राप्ति (नाम परिवर्तन) ले ११ गते राति खाना खाइसकेपछि शालिनसहित ३/४ जना साथीबिच चाउचाउ खाने सल्लाह भएको र बाकसबाट चाउचाउ निकाल्न खोज्दा चाउचाउ हराएको बयान दिएकी छन् । फागुन १२ गते बिहान किरण बहादुर अधिकारी र कमल प्रसाद शर्मा सरले आ–आफ्नो कोठा सरसफाइ गर्न भनेपछि फेरि अघिल्लो दिन हराएको चाउचाउको बारेमा कुरा उठेको र ‘एक पटक सबैको बाकस खोली हेरौँ न’ भनेर बाकस खोली हेर्दा शालिनको बासकमा दुई प्याकेट चाउचाउ फेला परेको उनले बयानमा खुलाएकी छन् ।

‘मैले शालिन पोखरेललाई तिमीले मेरो यसभन्दा अगाडि पनि सामान तथा पैसा लैजाने गरेको हो र ? भनी सोध्दा निजले ‘मैले खाने कुराहरू मात्र लगेकी हुँ, पैसा लगेको छैन भनी बताएकी थिइन्’ बयानमा उनले भनेकी छन् ।

त्यसपछि शालिन पोखरेललाई ‘अब तिमी ठुली भइसक्यौ, यस्तो काम गर्नु हुँदैन’ भनी सम्झाइ बुझाइ गरेको उनले बताएकी छन् ।

फागुन १२ गते बिहान ९ः३० बजे खाना खानको लागी घण्टी बजेपछि तल क्यान्टिनमा खाना खान जाँदै गर्दा शालिन पोखरेलले आफूलाई बोलाएर ‘सुन्नु न दिदी ! मैले तपाईंको पैसा लगेको छैन’ भनेको र आफूले शालिनलाई सम्झाउँदै ‘भई गयो नि ! यो कुरा कति पटक गरिराखेको ? अबदेखि चाहिँ यस्तो काम नगर्नु है’ भनेको बयान उनले दिएकी छन् ।

बिहान १०ः३० बजेको समयमा शालिन पोखरेल आफू बस्ने गरेको कोठाभित्र सिलिङ पङ्खामा डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको भन्ने सुनेर आफूले थाहा पाएको उनले बयानमा खुलाएकी छन् ।

प्रतिक्रिया