कांग्रेस महाधिवेशन: आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन


काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरी तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ ।

मतदान मतपत्रमार्फत गर्नु पर्नेछ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४,७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया