एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत


कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।

निर्वाचित कमिटीका पदाधिकारी सहित कमिटी सदस्यहरुलाई शनिबार निर्वाचन मण्डलका संयोजक नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुर्यप्रसाद पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा होमप्रसाद तिमिल्सिना, सचिवमा टुक बहादुर बैदवार, उपसचिवहरुमा सिता गहतराज र विष्णु प्रसाद चौलागाईं सर्वसम्मत निर्वाचित हुनु भएको हो । अधिवेशनबाट लेखा समिति संयोजकमा बालकृष्ण शर्मा सहित ३ सदस्यीय लेखा समिती समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै अध्यक्ष मण्डलका अध्यक्ष समेत रहनु भएका एमाले नवलपुरका अध्यक्ष जिवन श्रेष्ठले पार्टीको सुदृणीकरण र मिसन २०८४ मा केन्द्रीत भएर निर्वाचित कमिटीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा घनश्याम गिरी नेतृत्वको पार्टी कमिटीले प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै पार्टीलाई थप मजबुद गराउने दायित्व नवनिर्वाचित कमिटीको भएको बताउनुभयो । सर्वसम्मत गर्दा कतिपय पार्टीका सदस्यहरुको इच्छा र आकांक्षाहरु तत्काल पुरा नभएको देखिएपनि पार्टी कमिटी र अन्य थप जिम्मेवारी प्रदान गरेर उहाँहरुलाई समेत पार्टी काममा थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो ।

नवनिर्वाचित गाउँपालिका कमिटीका अध्यक्ष राजु बराल मगरले पार्टी नेतृत्व र कार्यकर्ताले जुन विश्वासका साथ आफ्नो नेतृत्वमा गाउँपालिका कमिटीको जिम्मेवारी प्रदान गर्नु भएको छ । त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विनयी त्रिवेणी गाउँपालिकामा अझै बलियो र जनप्रिय बनाउन आफु सदैव क्रियाशिल हुने बताउनुभयो ।

नवनिर्वाचित गाउँपालिका कमिटीको प्रथम बैठक शनिबार नै दुम्कीबासमा सम्पन्न भएको छ । बैठकले पार्टी वडा कमिटी तहको अधिवेशन तत्काल सम्पन्न गर्ने सहित सदस्यता नविकरणलाई प्रभावकारी रुपमा संगठित सदस्यहरु समक्ष लैजाने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया