राइनो गोल्ड कपको उद्घाटन खेलमा देश भक्त क्लब विजयी
मध्यविन्दु(नवलपरासी), ३ कात्तिक
दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने उद्धेश्यले आयोजना गरिएको सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा देश भक्त क्लब विजयी भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका २ कोल्हुवामा शनिवारदेखि सुरु भएको प्रतियोगितामा हनामी क्लब चितवनलाई ५ का विरुद्ध ४ गोलले पराजित गर्दै देशभक्त क्लब पश्चिम नवलपरासी विजयी भएको हो । टाइबेकरमा सम्पन्न खेलमा देशभक्तले ४ का विरुद्ध ५ गोल गरेर विजयी भएको हो ।
प्रतियोगिताअन्तर्गत आइतबार कपिलवस्तु–११ एएफसी र वीरगन्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनु भयो । १२ टिम सहभागी प्रतियोगितामा विजेताले आठ लाख, उपविजेताले चार लाख नगद पाउने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नु भएको थियो ।
खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताउनुभयो ।