युनाइटेड गोल्ड कपमा सेमिफाइनल समिकरण पुरा
हुप्सेकोट , ६ असोज,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालन हुने सबै भन्दा ठुलो पुरस्कार राशिको युनाइटेड गोल्ड कप फुटवल प्रतियोगिताको ३७ औँ संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ ।
२० टिम सहभागी गोल्डकपमा गोर्खा फोर्स सिसेनी, सेन्ट्रल कलेज २८ बिगाहा, नवज्योती युवा क्लब हसौँरा र हरियाली युवा क्लब रजहर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाईनल अन्तर्गत भएको खेलमा देवचुली रेन्जर्सलाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै गोर्खा फोर्स सिसेनी सेमिफाइनलमा प्रवेश गरेको हो भने आयोजक युनाइटेड युवा क्लबलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै सेन्ट्रल कलेज २८ बिगाहा सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै देवचुली नगरपालिकालाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै नवज्योति युवा क्लब हसाँैरा सेमिफाइनल प्रबेश गरेको छ । भैरव स्पोर्ट्स गोपिगन्जलाई सुन्यका विरुद्ध १ गोलले पराजित गर्दै हरियाली युवा क्लब रजहरले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सेमिफाइनल अन्तर्गतका खेलहरू असोज ७ गते देखि सञ्चालन हुनेछन ।
सेन्ट्रल कलेज २८ बिगाहा र गोर्खा फोर्स पहिलो खेलमा फाइनल प्रवेशका लागि मैदानमा आमनेसामने हुनेछन भने असोज ८ गते हुने दोस्रो खेलमा नवज्योती युवा क्लब र हरियाली युवा क्लब फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्नेछन ।
सेमिफाइनलमा पुगेका सबै टिमले क्वाटरफाइनल देखि नै राष्ट्रिय खेलाडीहरूलाई आफ्नो टिममा भित्राइएका थिए ।
प्रतियोगिताको विजेताले दुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ । निरन्तर ३७ औँ संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रूपमा लिइन्छ । युनाइटेड युवा क्लबद्वारा आयोजित प्रतियोगिताको समापन सरस्वती मा।बि। गिरुवारीको खेल मैदानमा असोज ११ गते हुनेछ ।