फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य


काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले ४७ रनको योगदान गरे । आसिफ र कुशल भुर्तेलले ओपनिङ विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल २० रन बनाउँदै आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए भने चौथो नम्बरका ब्याट्सम्यान गुलसन झाले टोलीका लागि ३४ रनको योगदान गरे ।

कुशल मल्लले पनि टोलीको खातामा २६ रन थपे । नेदरल्यान्ड्सका बलर फ्रेड क्लासिन, टिम भान डर गुटेन, माइकल लेभिट र साइब्रान्डले दुई–दुई विकेट लिए । नेपालले अतिरिक्त रुपमा १० रन पायो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी २० रन बनाउँदै आउट भएका थिए । यसक्रममा उनले केवल १० बलमा दुई छक्का र एक चौका पनि प्रहार गरेका थिए । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका बलर भान डर गुटेनले बोल्ड गरेका थिए । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले २३ रन बनाएको थियो ।नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी २५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले १९ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । उनलाई डच बलर माइकल लेभिटले कप्तान स्कट एडवार्डद्वारा क्याच गराएका थिए । ९.२ ओभरमा रोहित आउट हुँदा नेपालले ८२ रन बनाँएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान असिफ शेखलाई गुमाएको थियो । आसिफ ४७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी केवल तीन रनका कारण टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ अर्धशतक पुरा गर्नबाट चुकेका थिए ।

२२ वर्षीय आसिफले पेभेलियन फर्किनुअघि केवल ३७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई डच बलर लेभिटले एलबीडब्लूको धरापमा पारेका थिए । लेभिटले लिएको यो दोस्रो विकेट हो । १३.४ ओभरमा आसिफ आउट हुँदा नेपालले एक सय २५ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी तीन बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । दीपेन्द्रलाई भान डर गुटेनले एलबीडब्लूको धरापमा पारेका हुन् । गुटेनले लिएको यो दोस्रो विकेट थियो । १४.३ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर साइब्रान्डले बिक्रमजित सिंहद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । करण केसी चार बलमा एक छक्काको मद्दतले नौ रन बनाउँदै आउट भएका थिए । उनलाई पनि डच बलर साइब्रान्डले बिक्रमजित सिंहद्वारा नै क्याच गराएका थिए । १८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी टोलीका लागि ३४ रनको योगदान गर्दै पेभेलियन फर्किएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका गुलसनले केवल २५ बलको सामना गरी तीन छक्का पनि हिर्काएका थिए । उनलाई डच बलर फ्रेड क्लासिनले सारिज अहमदद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई पनि डच बलर क्लासिनले नै लेभिटद्वारा क्याच गराएका थिए । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो । सोमपाल कामीले पाँच बलमा एक चौकाको मद्दतले अविजित ६ रन बनाए । प्रतिस जिसीले पनि पाँच बलमा अविजित ६ रन बटुले ।

प्रतिक्रिया