नवलपुरमा दादुरा–रूबेला विरुद्धको खोप अभियानमा तीव्रता


कावासोती, २२ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत फागुन १३ गतेदेखि सञ्चालन भएको दादुरा–रूबेला विरुद्धको खोप अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका विभिन्न खोप केन्द्रहरूमा खोप अभियान सञ्चालन गरिएको छ ।
गत १३ गतेदेखि सञ्चालन भइरहेको खोप अभियानमा अहिले सम्म जिल्लाभर ४१ हजार छ सय ५० जना बालबालिकाहरूलाई खोप लगाइएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिराम भट्टराईले बताउनु भयो ।


जिल्लाका पालिका अन्तरगत कावासोती नगरपालिकामा चार हजार एक सय चार , मध्यविन्दु नगरपालिकामा पाँच हजार एक सय ७६ , देवचुली नगरपालिकामा तीन हजार पाँच सय १५ , गैँडाकोट नगरपालिकामा १९ हजार पाँच सय ६६ ,हुप्सेकोट गाउँपालिकामा एक हजार पाँच सय ५४ , बुलिङटार गाउँपालिकामा दुई हजार आठ सय एक, बौदीकाली गाउँपालिकामा दुई हजार सात सय २६ र विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार दुई सय आठ जना बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाइएको हो ।
“जिल्लामा दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब एक लाख २२ हजार बालबालिकालाई खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ”,उहाँले भन्नु भयो,“नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरूलाई खाप अभियान सञ्चालन गरिएको छ ।”


जिल्लाको चार नगरपालिका र चार वटा गाउँपालिकाको ९२ वटा वडाहरूमा दादुरा–रुबेला खोप अभियान सञ्चालन भइरहेका छन् । खोप अभियानमा जिल्लाका सात सय खोप केन्द्रमा सात सय स्वास्थ्यकर्मी, चार सय स्वयंसेवक खटिएको प्रमुख भट्टराईले जानकारी दिनु भयो । “जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन भएको छ”,उहाँले भन्नु भयो ।
समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याइ यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पु¥याउन अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया