पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी


काठमाडौँ, माघ २८ गते । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो ।

यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी हुनुभयो । दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पार्नुभयो ।

महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पार्नुभयो । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाउनुभयो ।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जित्नुभयो । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता हुनुभएको हो ।

सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गर्नुभयो । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ हुनुहुन्थ्यो ।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित हुनुभयो । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाउनुभयो । उहाँले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्नुभयो ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित हुनुभयो । उहाँले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जित्नुभयो ।देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाउनुभयो।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित हुनुभयो । उहाँले ट्रफीसँगै ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गर्नुभयो ।

उहाँले अवार्डसहित ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । एसियन स्पोर्ट्सजर्नालिस्ट अवार्ड हङकङका रेमण्ड चुलाई प्रदान गरिएको छ । विजेतालाई हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया