गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कास्कीलाई


मध्यविन्दु (नवलपरासी), १२ फागुन,
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कास्की जिल्लाले प्राप्त गरेको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आयोजना गरिएको प्रतियोगितामा कास्की जिल्लाले १८ स्वर्ण, ११ रजत र २३ कांस्य सहित उपाधि जितेको हो । प्रतियोगितामा बाग्लुङ्ग जिल्ला १६ स्वर्ण, ६ रजत र १४ कांस्य प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ९ स्वर्ण, ११ रजत र १० कांस्य सहित माग्दी जिल्ला तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।

गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रथम, द्धितिय र तृतीय हुन सफल जिल्लाका खेलाडीहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद सहित ट्रर्फी प्रदान गर्नुभएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका नौ सय ४२ विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा सहभागी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति नवलपुरको व्यवस्थापनमा हिजोदेखि प्रतियोगिता सुरु भएको थियो ।
त्यस्तै आगामी वर्ष २०८१ को प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गोरखा जिल्लामा गर्ने अधिकार प्रदान स्वरूप झन्डा हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया