सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम स्थापना दिवस मनाइयो


कावासोती,

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम स्थापना दिवस अन्तरक्रिया कार्यक्रम सहित मनाइएको छ ।

स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील सेवानिवृत्त राष्ट्रसेवकहरूका विभिन्न संगठन र सरकारी निकायका पदाधिकारीबिच वृहत् अन्तरक्रिया कार्यक्रम गरिएको हो । सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुर स्थापना भएको दिन असोज ७ गते प्रथम स्थापना दिवस मनाइएको हो ।

नेपालका सरकारी तथा संस्थान जस्ता निकायमा कार्य गरी निजामती, जंगी, प्रहरी, स्थानीय निकाय, सरकारी स्वामित्व भएका सार्वजनिक विद्यालय तथा विश्वविद्यालय, बैँक, संस्थान, स्वास्थ्य, न्याय जस्ता आदि क्षेत्रहरूबाट सेवानिवृत्त भई सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका व्यक्तिहरूको साझा संगठनको सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुर गठन गरिएको दिन पारेर स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा संस्थाका संस्थापक अध्यक्ष युक्तप्रसाद गौडेल तथा उहाँकि धर्मपत्नी दिव्यज्योति गौडेललाई समाजलाई दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको परिकल्पना गरि संस्थालाई यहाँ सम्म ल्याउन संस्थापक अध्यक्ष युक्तप्रसाद गौडेलको ठुलो योगदान रहेकाले उहाँलाई सम्मान गरिको संस्थाका अध्यक्ष डा.नरनाथ पाण्डेले बताउनु भयो ।

गैरराजनीतिक र गैरनाफामूलक यो संस्था नवलपुर जिल्लामा सबै सेवानिवृत्त संगठनहरूको साझा मञ्चको रूपमा एक हुनुपर्ने कार्यक्रममा सहभागीहरूले बताउनु भएको थियो । सेवानिवृत्त शिक्षक समाज, प्रहरी तथा सेनाहरूका अलग अलग संस्थाबाट गतिविधिहरू अघि बढाइएतापनि समान उद्देश्य र समान माग लिएर अघि बढेका यी सबै संस्थाहरू यस समाजमा समेत आबद्ध भई समाजलाई सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा कावासोती नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख रुद्र शर्मा, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँ, ज्येष्ठ नागरिक मञ्च नवलपुरका अध्यक्ष सदानन्द जैसी, भु.पू. सेनाका जिल्ला अध्यक्ष देवीप्रसाद भुसाल, कावासोती वडा नं. ३ का वडाध्यक्ष डोरमान गिरी, कार्यक्रममा विशेष सम्मानित व्यक्ति संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक युक्तप्रसाद गौडेल र उहाँकि धर्मपत्नी दिव्यज्योति गौडेल, सेवानिवृत्त शिक्षक समाज नवलपुरका अध्यक्ष भागवत प्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ऋषिराम कँडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास लामिछाने, क्षेत्रबहादुर भण्डारी, युक्तप्रसाद गौडेल, भागवतप्रसाद गौतम, सदानन्द जैसी र देवीप्रसाद भुसालले सारगर्भित सुझाव र मन्तव्य राख्नु भएको थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास लामिछानेले सेवानिवृत्त राष्ट्रसेवकहरू एक भई निवृत्त जीवन बिताउँदा सामाजिक सेवामा लाग्नुपर्ने विचार व्यक्त गर्नु भएको थिए ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुवास लामिछानेको प्रमुख आतिथ्ययता एवं समाजका अध्यक्ष डा.नरनाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मध्यविन्दु बहुमुखी क्याम्पसको सभा हलमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव मदनप्रसाद अर्यालले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष शान्ति के.सी. ले दिनुभएको थियो । संस्थाको संस्थागत परिचय र गतिविधि डा. नरनाथ पाण्डेले स्पष्ट पार्नु भएको थियो ।

 

प्रतिक्रिया